Ad Banner

इजरायलबाट २५० नेपाली आउँदै, शव ल्याउन केही ढिलाइ हुने

साझा कथा । शसस्त्र समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका केहि नेपाली विहीबार नेपाल आइपुग्दै छन् । उनीहरुलाई लिन विहान इजरायल गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किनेछ ।

कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्री एनपी साउद समेत इजरायल गएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको हो । नेपाल फर्कनेहरु अधिकाँश विद्यार्थीहरु छन् ।

उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ ।

इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ । इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा गरेपछि यथाशक्य चाँडो शव ल्याइने प्रवक्ता लम्सालले जानकारी दिए ।

यो पढ्नु भयो ?