Ad Banner

नेपाली भूमि हुँदै कैलाश दर्शनमा मोदी – क्रुद्ध भए रवि (तस्बिरहरु सहित)

साझा कथा ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा आम चुनाव नजिकिँदै गर्दा धार्मिक यात्रा बाक्लो बनाएका छन् । उनको सबैभन्दा ठूलो हतियार नै हिन्दु धर्म बनेको छ । यसकै मनोविज्ञानले अघिल्लो पटक चुनाव जितेका मोदी यसपाली पनि उही रुपमा प्रस्तुत हुन थालेका छन् । सन् २०२४ को अप्रिल र मे मा भारतमा आम चुनाव हुँदैछ जसले नयाँ प्रधानमन्त्री चयन गर्ने छ । दुईपटक प्रधानमन्त्री भइसकेका मोदी फेरि उम्मेदवार हुने चर्चा छ । भारतीय काँग्रेसले भने राहुल गान्धीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषित गरिसकेको छ ।

यसैबीच मोदीले उत्तराखण्डको पिथौरागढस्थित ‘कैलाश भ्यू प्वाइन्ट’बाट कैलाश पर्वतको दर्शन गरेका छन् । कैलाश भ्यू पोइन्ट पिथौरागढको जोलिङकङ क्षेत्रमा छ- जहाँबाट कैलाश पर्वत तथा मानसरोवर प्रष्टै देखिन्छ । मानसरोवरको दर्शनअघि विहीबार बिहान प्रधानमन्त्री मोदीले पार्वती कुण्डमा पूजाअर्चना गरे ।

भारतीय मिडियाका अनुसार भारत-चीन सीमाक्षेत्रको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् – नरेन्द्र मोदी । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्र हुँदै उनी मानसरोवरको तीर्थयात्रामा निस्किएका थिए । कैलाश पर्वतको दर्शन गरेर फर्किदा मोदीले नेपाली भूमिमा पर्ने गुञ्जीका स्थानीयसँग पनि भेट गरेका छन् ।

नेपाली भूमि टेकेर कैलाश दर्शनमा मोदी गएपछि नेपालमा भने विरोध भएको छ । नेपाली भूमि टेक्दा नेपाल सरकारलाई जानकारी नभएको भन्दै नेताहरु क्रुद्ध भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा किन आए ? भन्दै सरकारसँग प्रश्न सोधेका छन् ।

विहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चुच्चे नक्साभित्र पर्ने नेपाली भूभागमा विदेशी प्रधानमन्त्री आएको सम्बन्धमा सरकारको धारणा पनि मागे । उनले भने, ‘नेपाललाई जानकारी नगराई मोदी हाम्रो भूभागमा आउँदा सरकार र परराष्ट्र मन्त्रालयले संसदलाई जानकारी गराउनु पर्दैन ?’

लामिछानेले मोदीको स्वागत किन नगरेको ? भन्दै कटाक्षसमेत गरे । ‘छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा न सरकारले कुनै स्वागत गरेको छ । न देशलाई जानकारी गराएको छ’, उनले भने, ‘सरकारले स्वागत गर्नुपर्दैन ?’

यो पढ्नु भयो ?