Ad Banner

कोक-पेप्सीको कालो पक्ष, आजैबाट छोडौँ ! (भिडियो)

Featured Video Play Icon

साझा कथा विशेष
तपाईलाई थाहा छ, तपाईले पिउने कोका कोला र पेप्सीका उत्पादनमा के मिसाइएको हुन्छ ? धेरैलाई थाहा नहुन सक्छ, कोक पेप्सी मन्द विष हुन् । यिनले तपाईलाई दिनप्रतिदिन मर्नका लागि उत्साह भरिरहेका छन् ।

गर्मी मौसम सकिने बेला चिसो पेय पदार्थको कुरा किन गरेको होला भन्ने लाग्न सक्छ । त्यस्तो नसोँच्नुस् किनकी गर्मी मौसम सकिए पनि हाम्रा महान् पर्व दशैँ तिहार सुरु हुँदैछन्, जुन बेला कोक पेप्सीको अत्याधिक खपत हुन्छ । चाडबाडकै बेला कोक र पेप्सीका अनेक फन्डा सुरु हुन्छन् ।

विहे होस् या पास्नी, घरायसी भोज होस् या दिउँसोको सिंगल खाजा, तपाई कोक वा पेप्सीको उत्पादन मगाउनुहुन्छ भने आजैबाट छोड्नुस् । तपाईलाई थाहै होला, विश्वका जम्मा दुईवटा मुलुक बाहेक सबै देशमा कोका कोला पुगेको छ । सन् १८८६ मा स्थापना भएको कोक विक्रि नहुने मुलुक हुन् क्युवा र उत्तर कोरिया । त्यहाँ विक्रि नहुनुका छुट्टाछुट्टै कारण छ । विश्वभर कोका कोलाका २२० बढी कारखाना छन्, ३९ सय उत्पादन छन् । तपाई आश्चर्यचकित हुनुहुन्छ होला, दैनिक १ अर्ब ९० करोड कोका कोलाका बोत्तल विक्रि हुन्छन् । पेप्सी कम्पनी त्यसको ७ बर्षपछि १८९३ मा स्थापना भएको थियो ।  यसको पनि उत्तिकै मात्रामा बोत्तलहरु विक्रि हुन्छन् ।

हुन त केहि व्यक्तिहरुले कोका कोला र पेप्सीलाई ट्वाइलेट सफा गर्ने केमिकलसँग पनि तुलना गर्छन् तर यो सत्यमा आधारित छैन । चिसो पेय पदार्थमा साइट्रिक एसिड र फस्फोरिक एसिड मिसाइएको हुन्छ । साइट्रिक एसिड कागती, सुन्तलामा पनि पाइन्छ । फस्फोरिक एसिड भने खानामा थपिएको एक्स्ट्रा एसिड हो जसले चिनीलाई कुहिनबाट जोगाउँछ । किन ? किनकी चिसो पेय पदार्थमा अत्याधिक चिनी मिसाइएको हुन्छ । जुन हाम्रो शरिरको लागि अत्याधिक हानिकारक छ ।
तपाईले कोक वा पेप्सीको बोत्तललाई गहिरिएर हेर्नुभएको छ ? पक्कै हेर्नुहुन्न, किन्यो, विर्को खोल्यो, स्वाठ्ठै पियो । अधिकाँश मानिसले यसै गर्छन् । तपाईले गहिरिएर कोक वा पेप्सीको बोत्तलमा लेखिएका कुरा हेर्नु भयो भने थाहा पाउनुहुन्छ, यसमा कस्ता कस्ता चिजको मिसावट गरिएको हुन्छ । पेय पदार्थको नाममा विभिन्न विषादी मिसाएर बेच्ने नक्कली कम्पनीहरु पनि छन् । त्यो अलग पाटो हो, त्यसको छुट्टै कथा बन्न सक्छ । तर यहाँ हामीले चर्चा गर्न खोजेको सक्कली पेय कोका कोला र पेप्सीको हो ।

१ लिटरको कोकको बोत्तल हेर्नुस्, १०० मिलिलिटरमा ४४ क्यालोरी पाइन्छ भनेर लेखिएको छ । जसको सिधा अर्थ हुन्छ, १ हजार मिलिलिटर अर्थात एक लिटरमा ४४० क्यालोरी पाइन्छ । यो भनेको एउटा आलु पराठामा पाउने क्यालोरी जति हो । स्प्राइटको सवा २ लिटरको जम्बो बोत्तलमा प्रति १०० मिलिलिटरमा ४८ क्यालोरी लेखिएको छ । यसको अर्थ हो २२५० मिलिलिटरमा १०८० क्यालोरी पाइन्छ । यो भनेको तपाईले ३ वटा आलु परोठा खाएजत्तिकै क्यालोरी प्राप्त गर्नु हो । आलु परोठा खाँदा तपाईको पेट भरिन्छ, त्यसमा रहेको प्रोटिन, भिटामिन, फाइबर, फ्याट पनि पाउनुहुन्छ । तर १ लिटर कोक खाँदा न तपाईको पेट भरिन्छ, न अरु पौष्टिक तत्व नै पाइन्छ । कोक पिएपछि तपाईले फेरि खाना वा खाजा खानु त छँदैछ ।

एक लिटर कोक वा पेप्सीको बोत्तलमा कम्तिमा एक पाउ अर्थात २०० ग्राम चिनी मिसाइएको हुन्छ । विज्ञहरु भन्छन्, हाम्रो शरिरलाई चाहिने चिनीको मात्रा हामीले खाने खानाहरुबाटै पुर्ति भइसकेको हुन्छ । दुधमा ल्याक्टोस वा कुनै फलमा फ्रुक्टोस हुन्छ, जुन प्राकृतिक रुपमा पाइने चिनी हो । विश्व मान्यता प्राप्त संस्था अमेरिकन हर्ट एशोसियशनका अनुसार मानिसलाई थप चिनीको आवश्यकता शून्य प्रतिशत पनि छैन । अरु प्रकारका चिनी खानु रोगलाई आमन्त्रण गर्ने मात्रै कुरा हो । कोक वा पेप्सी खाएर अनावश्यक चिनी थपिने मात्रै हो । यो पनि बुझ्न जरुरी छ कि, एशोसियशनका अनुसार एक जना व्यक्तिले प्रतिदिन औसतमा ३० ग्रामसम्म थप चिनी खान सक्छ, जुन हाम्रो पाचन प्रक्रियाले धान्न सक्छ ।
मानिसहरुलाई एउटा ठूलो भ्रम छ, चिनीले पेट बढ्ने वा मोटोपन बढ्ने मात्रै त हो । तर चिनीले मुटुरोग हुने, आँखा धमिलो हुने, जोर्नी दुख्ने, छाला चाउरी पर्ने, कलेजोमा क्षति हुने, टाइप टु डायबेटिज हुने र मृगौलालाई पनि ठूलो असर गर्छ । धेरै चिनी खानेहरुलाई हृदयघात हुने सम्भावना ज्यादा हुन्छ ।सन् २०१७ मा गरिएको एक अध्ययनका अनुसार चिनीको लत लागु पदार्थमा पाइने कोकिनको लत जस्तै हो । अर्थात गुलियो खान मन लाग्नु पनि चुरोट, रक्सी र अन्य लागु पदार्थको तलतल जस्तै हुनु हो । चिनी पेय पदार्थ मात्रै होइन, चकलेट, आइसक्रिम, मिठाई लगाएतका बस्तुमा पनि अत्याधिक राखिएको हुन्छ ।
यहाँनेर बुझ्नुपर्ने अर्को कुरा के छ भने, भ्रम छर्नका लागि कोक र पेप्सीले चिनी विहिन डाइट कोक र डाइट पेप्सीको पनि उत्पादन गरेका छन् । यी बोत्तलमा अस्परटेम, सचारिन र सुक्रलोज जस्ता गैर प्राकृतिक गुलियो पदार्थ मिसाइएको हुन्छ, जसलाई क्यान्सरको कारक मानिएको छ । अखाद्य र हानिकारक बस्तु भनेर विश्वका धेरै राष्ट्रले यसलाई बन्देज लगाएका छन् ।

चिनी मात्रै होइन, कोक र पेप्सीमा अरु थुप्रै केमिकल पनि मिसाइएको हुन्छ जुन शरिरका शत्रु हुन् । हामीले खाने कोक, फेन्टा, मिरिन्डा, पेप्सी, स्लाइसको रंग पनि फरक फरक हुन्छ । ती रंगहरु अनेक केमिकलकै कारण फरक हुने हो । कोक र पेप्सीको रंग कालो हुन्छ, किनकी यसमा क्यारामिल मिसाइएको हुन्छ, जुन चिनी डढाएर बनाइन्छ । एक अध्ययनका अनुसार क्यारामिल पनि क्यान्सरलाई प्रश्रय दिने बस्तु हो । यो आगोमा पोलिएका अन्य खानामा पनि लागु हुन्छ ।
मिरिन्डा र फेन्टा सुन्तला रंगको हुन्छ, जसमा ई११० नामको सेन्टेथिक रंग मिसाइएको हुन्छ जसको सम्बन्ध पेट्रोलियम पदार्थसँग हुन्छ । सन् १९७३ मा बालरोग विशेषज्ञ वेन्जामिन फिङवल्डले गरेको अध्ययन अनुसार यस्ता बस्तुका कारण बालबालिकाहरुमा नैराश्यता, रिस आवेग बढ्ने, एकाग्रता नहुने निश्कर्ष निस्किएको थियो । त्यहि कारण सन् २००० मा स्वीडेन, नर्वे र फिनल्याण्डले यस्ता अखाद्य बस्तु प्रयोगमा रोक लगाएका थिए ।

सन् २००५ मा अमेरिकाले गरेको एक अध्ययनले भनेको थियो, चिनी र रंगको अलावा चिसो पेय पदार्थमा ई२११ नाम दिइएको बेन्जिन प्रयोग हुन्छ जसलाई बेन्जोइड नुन भनेर मिसाइएको हुन्छ । बेन्जिन यस्तो चिज हो, जुन गाडीको धुँवा फाल्ने पाइपबाट निस्कने गर्छ । कोइला र पेट्रोल जलाउँदा यस्तो ग्यास उत्पादन हुन्छ । अध्ययन अनुसार यसले पनि क्यान्सरलाई बढावा दिने गर्छ । सन् २००७ मा यहि बस्तुको प्रयोग लिएर कोका कोला र पेप्सी कम्पनी विरुद्ध मुद्दा परेको थियो । त्यसपछि यी कम्पनीले बेन्जिन प्रयोग नगर्ने फैसला भएको थियो तर हाम्रो जस्तो देशमा यसको अनुगमन भएको छैन ।

कोका कोला कम्पनी र पेप्सी कम्पनीले उत्पादन गर्ने पेय पदार्थले नै विश्व बजार खाएका छन् । नेपालमा पनि यिनै दुई कम्पनी हावी छन् । यहाँनेर अर्को एउटा तत्वको कुरा आउँछ, साइट्रिक एसिड जुन पेय पदार्थमा राखिएको हुन्छ जसले स्वादिलो बनाउने काम गर्छ । साइट्रिक एसिडको अर्को फर्मुला सोडियम साइट्रेट पनि पेय पदार्थमा राखिएको हुन्छ जसले अम्लीयपन कम गर्न मद्दत गर्छ । यहि कारण हो, चिसो पेय पदार्थ खाएपछि तपाईको पेटमा रहेको ग्यास बाहिर निस्किएर एकछिनलाई आनन्द हुने गर्दछ । तर यसले शरिरमा असर गरिरहेको हुन्छ ।

यी चिजको अलावा पेय पदार्थमा स्टेबिलाइजर्स पनि राखिएको हुन्छ जसले प्रयोग भएका तत्वहरुलाई एकापसमा बाँध्ने काम गर्छ र कुनै पदार्थलाई ठोस हुनबाट रोक्छ । यहि कारण हो, पेय पदार्थ सधैँ तरल अवस्थामै रहन्छ । सबै पेय पदार्थमा कार्वनडाइअक्साइड मिसिएको पानी अर्थात कार्बोनेटेट बाटर राखिएको हुन्छ । जसलाई हामी सोडा भनेर पनि चिन्छौँ, यसले पेय पदार्थमा फिज बनाउन मद्दत गर्छ । यी सोडाहरु पनि चिनीमा आधारित हुन्छन् ।

यी सबै कुरा थाहा पाइसकेपछि अझै पनि तपाई कोका कोला र पेप्सीका अनेक उत्पादनको मजा लिनुहुन्छ ?

यो पढ्नु भयो ?