“केपी ओली बोलिसकेपछि उनले के बोले भनेर सोध्ने सांसद पनि छन्”

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीका शतप्रतिशत सांसद संसदमा नयाँ हुन् । राजनीतिमा शुद्धिकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने उद्देश्यका साथ उदाएको स्वतन्त्र पार्टीका सबै सांसद संसदमा प्रभावशाली छैनन् । तर कतिपय सांसद भने कोर्स करेक्सनका लागि आफू सक्षम छु भनेर पुष्टि गर्न भगिरथ प्रयत्न गरिरहेका छन् । स्वतन्त्र पार्टीका केहि यस्ता सांसद छन् जो संसदका हरेक बैठकमा सहभागी हुन्छन्, संसदीय समितिहरुका हरेक बैठक छुटाउँदैनन् र आफ्नो विचार तथा तर्क शानदार ढंगले राख्छन् । तीमध्येका एक हुन्, सांसद मनिष झा । झा स्पष्ट वक्ता हुन्, तर्कपूर्ण ढङ्गले कुरा राख्न सक्ने क्षमताका छन् । संसद होस् या बाहिर झाको अभिव्यक्ति सन्तुलित र सकारात्मक सुनिन्छ । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका झाका लागि सांसदको भूमिका भने यो पहिलो हो ।

हरेक विषयमा अध्ययन गरेर बोल्ने र तर्कपूर्ण विचार व्यक्त गर्न सक्ने झा हालको सदनका कतिपय अभ्याससँग विमति राख्छन् । उनी सदनलाई प्रभावकारी बनाउन भाषण होइन विचार, नीति मन्थन गर्ने ठाउँका रुपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्छन् । सांसदसँग रासस कार्यक्रममा पनि झाले यस्तै विचार व्यक्त गरेका छन् । सदनमार्फत सार्वजनिक महत्वका विषयमा जनतालाई सुनाउनका लागि मात्रै बोल्नेभन्दा पनि नीतिगत तहमा कसरी प्रभाव पार्ने भन्ने उद्देश्य लिएर अभ्यास गर्नुपर्ने उनको भनाई छ । सदनमा केही सांसदले भाषण गर्दा ‘असीमित समय’ पाउने अभ्यासप्रति उनको तीव्र विरोध छ ।

“अहिले पनि पूर्वप्रधानमन्त्री (केपी शर्मा ओली) सदनमा आउनुहुन्छ र साढे तीन घण्टासम्म भाषण गरेर जानुहुन्छ । १५ मिनेटमै सकिने विषयका लागि किन त्यति धेरै समय दिएको थाहा छैन”, उनी भन्छन्, “एक जना सांसदले त भाषण सकिएपछि उहाँले के बोल्नुभयो भनेर अर्को सांसदले सोधेको घटना पनि छ ।”

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका झासँग विज्ञापन, व्यवस्थापन, नीति र बजार अनुसन्धानका क्षेत्रमा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । अहिलेसम्म संसदीय अभ्यासलाई बाहिरबाटै नियालेका झाले आफूसँग १० महिनाअघि सांसद हुँदै गर्दा धेरै हौसला, जिम्मेवारी र काम गर्ने चाहना प्रकट भएको अनुभव सुनाउँछन् ।

“गत वर्ष पुस ७ मा सांसदका रुपमा शपथ लिँदै गर्दा धेरै काम गर्छु भन्ने लागेको थियो । सबैतिरबाट प्राप्त हौसलाले आफ्नो जिम्मेवारी बढेको महसुस भएको थियो”, उनले भने, “तर त्यसको केही समयमै देखिएको राजनीतिमा बदलिँदो समीकरणले उत्साहले मलजल पाएन ।”

सांसद झा विधायिकामा अध्ययन र विषयप्रतिको चिन्तनमा कमी भएको देख्छन् । “सांसदहरु त सबैका लागि रोल मोडल बन्न सक्नुपर्ने हो, केही उदाहरणीय सांसद पनि हुनुहुन्छ तर त्यो सङ्ख्या निकै कम छ”, उनले भने, “त्यो सङ्ख्या दुई सय ७५ मा २५ मात्रै होला ।” केही सांसदहरु होहल्ला गर्ने, साइड टक गर्ने, हाजिर गरेर लबिमा बस्ने, चिया खाने र गफ मात्रै गर्ने र आफ्नो नेताले जे बोले पनि टेबुल ठोकिहाल्ने जिम्मेवारीमा मात्रै सीमित भएकामा झाको विमति छ ।

जनताका प्रतिनिधिलाई पनि सदनमा ‘असाइनमेन्ट’ दिने अभ्यास सुरु गर्नुपर्ने धारणा छ झाको । जनताले आफ्नो अमूल्य मत दिएकाले त्यसको सम्मानका लागि पनि सांसदमा पर्याप्त अध्ययन र असाइनमेन्ट जरुरी भएको उनको तर्क छ । “सांसद बन्नु र कुनै विषयमा गहनरुपमा जानकार हुनु फरक हो, सांसदले आफूले कुनै विषयमा नीतिगत तहमा कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा सचेत हुनैपर्छ”, उनले भने ।

सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका सांसद झाले समितिको असल अभ्यास सदनमा समेत लागू गर्नुपर्ने बताउँछन् । “संसदीय समितिका बैठकमा म पार्टी बिर्सिन्छु । सङ्घीय सदनको पूर्ण बैठकमा पनि हामीले दल बिर्सनुपर्छ, दलका नेता बिर्सिर नीति सम्झनुपर्छ”, उनले भने, “सदनमा पनि कुनै विषयमाथि घनिभूत छलफल र अभ्यास गर्न पाए मात्रै सदनलाई प्रभावकारी बनाउन सकिन्थ्यो ।”

“यहाँ त शपथ ग्रहणको भोलिपल्टदेखि अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ताले खाने रहेछ, नीति राम्रो बनाउनेभन्दा पनि कसरी निर्वाचन क्षेत्रमा बजेट बढाउने भन्नेमै ध्यान जाँदा उहाँहरुको भूमिका कमजोर बन्न पुग्छ”

विधायिकाको भूमिका कानुन निर्माणसँगै सरकारका कामकारबाहीमा पनि हुने बताउने झा जनप्रतिनिधिहरु जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्नेभन्दा पनि मतदाता रिझाउने र ‘स्टन्ड’मार्फत लोकप्रिय हुनेमा केन्द्रित हुनु दुःखद् भएको धारणा राख्छन् ।

“यहाँ त शपथ ग्रहणको भोलिपल्टदेखि अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ताले खाने रहेछ, नीति राम्रो बनाउनेभन्दा पनि कसरी निर्वाचन क्षेत्रमा बजेट बढाउने भन्नेमै ध्यान जाँदा उहाँहरुको भूमिका कमजोर बन्न पुग्छ”, उनले भने । “तपाईं हेर्नुभयो भने चैतदेखि असारसम्म निर्वाचनमा बजेट पार्नका लागि आधाभन्दा बढी सांसद सिंहदरबार धाउनुहुन्छ । निर्वाचन क्षेत्रमा बजेट पार्न सकिएन भने अर्को पटक निर्वाचन जित्न गाह्रो हुन्छ”, उनले भने, “यसले विधायिकाका रुपमा पाएको मुख्य जिम्मेवारीको कमजोर बन्न पुग्छ ।”

अन्य राजनीतिक दलसँगै यतिबेला रास्वपा पनि विधायिकाको भूमिका भुलेर ‘मिसन २०८४’मा केन्द्रित भएको हो भन्ने प्रश्नमा सांसद झा त्यो सत्य नभएको बताउँछन् । “हामीहरु आफ्नो भूमिकाप्रति सचेत छौँ, ‘परिवर्तनका लागि मिसन ०८४’, हाम्रो पार्टीको आधिकारिक दस्तावेजमा पनि छैन, मतदाताबाट आएको यो आवाजलाई हामीले अपनाएको मात्र हो”, उनले भने, “यसले हाम्रो संसद् र संसदीय समितिमा हुने उपस्थिति र प्रस्तुतिमा फरक परेको छैन ।”

पार्टीभित्र पनि सांसदको भूमिकाबारे निर्ममरुपमा समीक्षा भइरहेको बताउँदै झा भन्छन्, “हाम्रा साथीहरु विदेश भ्रमणमा जान थाल्नुभएको, विदेशका कार्यक्रममा लालचा बढेको वा संसद्मा हाजिर गरेर पार्टीको कार्यक्रम छ भनेर निस्कने अभ्यास बढेको हो कि भनेर हामीले निरन्तर समीक्षा र आत्मसात् गरिरहेका छौँ ।”

सांसद झा कानुन निर्माणमा सदनमा सत्तापक्षले बहुमतको दम्भ देखाउने गरेको अनुभव सुनाउँछन् । “सदनमा सत्तापक्षको बहुमतको दम्भ घातक भइरहेको छ । मैले सदनमार्फत पनि यो कुरा उठान गरिसकेको छु”, उनले भने, “कहिलेकाहीँ मलाई यो बहस अर्थहीन जस्तो लाग्छ । जति नै तर्कपूर्ण बहस र अध्ययन गरे पनि बहुमतका आधारमा बिल पास भइहाल्छ ।”

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?