साझा कथा । गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको सुरुवात भएको छ । मंगलबार बालुवाटारमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिँदै अभियानको सुरुआत गरेका हुन् ।
उनले पर्वत जिल्ला प्रशासन कार्यालयबाट असोज २८ गते नागरिकताको प्रमाणपत्र पाएका थिए । यस्तै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले पनि नागरिकताको प्रमाणपत्र लिए । केसीको नागरिकता असोज २९ गते काठमाडौंबाट जारी भएको थियो ।
एनआरएनएकी अर्की अध्यक्ष रविना थापाले भने गैर आवासीय नेपाली नागरिकता लिनुपर्ने छैन । किनकी उनीसँग नेपाली नागरिकता कायम नै छ । अमेरिकामा बसोबास गर्दै आएकी थापाले ग्रिन कार्ड लिएपनि नागरिकता लिएकी छैनन् र नेपाली नागरिकता त्यागेकी पनि थिइनन् । उनी कार्यकारी अध्यक्ष भएकै बखत गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । मंगलबारदेखि सुरु भएको गैर आवासीय नेपाली संघको ११ औँ विश्व सम्मेलनमा थापाले अध्यक्षमा उम्मेदवारी दिएकी छन् ।
नागरिकता प्राप्त गर्न थालेपछि गैरआवासीय नेपाली संघ एनआरएनएका संस्थापक उपेन्द्र महतोले खुशी व्यक्त गरेका छन् । उनले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताएका छन् ।
सरकारले गैरआवासीय नेपाली नागरकिता प्रदान गरेपछि कार्यकारी अध्यक्ष बद्री केसीले नागरिकता पेपर (कागज) मात्र नभई यो अभिभारा पनि रहेको बताएका छन् । ‘अब हाम्रो काँधमा जिम्मेवारी थपिएको,’ उनले भने, ‘विदेशमा बस्ने नेपालीले समृद्ध नेपालमा योगदान पुर्याउनुपर्ने छ ।’
गैर आवासीय नेपाली नागरिकता नेपालमा दिँइदै आइएको बंशज, जन्मसिद्ध, मानार्थ जस्तै एक प्रकारको नागरिकता हो । यो नागरिकता प्राप्त गर्नेहरुलाई राजनैतिक अधिकार दिइएको छैन । उनीहरुले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार भने उपभोग गर्न पाउँछन् । विदेशमा बस्ने नेपालीहरुको लगानी सरल ढंगले नेपालमा भित्र्याउन यो नागरिकताले मद्दत गर्ने विश्वास गरिएको छ ।