साझा कथा । मदिरा सेवन गर्नु विश्वका अधिकाँश मानिसको दिनचर्या हो । नेपाल पनि यसबाट अछुतो छैन । राजनैतिज्ञहरु पनि रक्सी पिउँछन् । रक्सी पिउनु आफैँमा ठूलो चर्चा र विवादको विषय होइन । तर रक्सी खाएपछि सम्बन्धित व्यक्तिले देखाउने चरित्र र उसले अन्य मानिससँग गर्ने व्यवहार सभ्य हुनुपर्छ । रक्सी पिएर सार्वजनिक कार्यक्रममा जाने र बोल्ने अनैतिक कार्य त हुँदै हो, सम्बन्धित व्यक्तिका लागि पनि शरमको विषय हो ।
नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईं मदिराकै कारण फसेका छन् । उनलाई फसाउने व्यक्ति अरु कोहि नभएर हलुका अन्तर्वार्ताका पर्याय प्रख्यात पत्रकार ऋषी धमला हुन् । रक्सी खाएर मातेको बेला ऋषी धमलाको कार्यक्रममा दिएको अन्तर्वार्ताले बजगाईँको वेइज्जत त भएको छ नै धमलापनि प्रश्नहरु बर्सिरहेका छन् । यो काण्डले पत्रकारिता र राजनीतिक क्षेत्रमा सनसनी मच्चाएको पनि छ ।
अन्तर्वार्ता चर्चामा आउनुमा दुईवटै पाटा हुन्छन्, सकारात्मक र नकारात्मक । तर काँग्रेस सांसद बजगाईंको अन्तर्वार्ताले भने नकारात्मक चर्चा बटुलेको छ । रक्सीले मातेको बेला उट्पट्याङ पत्रकार धमलालाई दिएको अन्तर्वार्ता बजगाईंको लागि गलपासोे भएको छ ।
ऋषी धमलाको कार्यक्रम ‘धमलाको हमला’ होस् या ‘जनता जान्न चाहन्छन्’, यी कार्यक्रममा हरेक व्यक्तिका अन्तर्वार्ताहरु विभिन्न कारणले चर्चामा आउँछन् । कोही स्टुडियोमा झगडा गरेकाले, कोही हातपातमा उत्रिएका कारण, कोही विचैमा उठेर हिंडेका कारण त कोही रोएका कारण चर्चा बटुल्छन् । सँगै धमलाका असान्दर्भिक, हलुका र उट्पट्याङ प्रश्नले पनि ती कार्यक्रम चर्चित भइदिन्छन् ।
अन्तर्वार्ता चर्चामा आउनुमा दुईवटै पाटा हुन्छन्, सकारात्मक र नकारात्मक । तर काँग्रेस सांसद बजगाईंको अन्तर्वार्ताले भने नकारात्मक चर्चा बटुलेको छ । रक्सीले मातेको बेला उट्पट्याङ पत्रकार धमलालाई दिएको अन्तर्वार्ता बजगाईंको लागि गलपासोे भएको छ ।
धमलाले आफ्नो टक शो ‘जनता जान्न चाहन्छन्’ मा हालै लिएको अन्तर्वार्तामा सांसद बजगाईं मादक पदार्थ (रक्सी)ले लट्ठिएको प्रष्ट देख्न सकिन्छ । धमलाले सोधेको प्रश्नको उत्तर दिँदा बजगाईंले लर्बरिएको जिब्रोले गोलमटोल जबाफ दिएका छन् । प्रश्न र उत्तरको कतै तालमेल पनि देखिँदैन । जिब्रो लर्बराएका कारण भनेको कुरा पनि बुझिन्न । जवाफ पनि असान्दर्भिक उत्तेजक सुनिन्छ ।
शरीरको अवस्था पनि अस्थिर देखिन्छ । उनको हाउभाउ र भावभङ्गीबाटै रक्सीले टिल्ल परेर लट्ठिएको दर्शक एवम् स्रोताले प्रष्टै अड्कल गर्न सक्छन् । दसैँको मुखमा मिडियादेखि चिया पसलसम्मै बजगाईंको अन्तरवार्ता भाइरल बनिरहेको छ । बजगाईंको अन्तवार्तालाई कतिपयले सामाजिक सञ्जालमा ‘बजगाईंको रक्सी संवाद’ भनेर टिप्पणी समेत गरेका छन् । अन्तर्वार्ता नकारात्मक रुपमा भाइरल भएपछि अहिले युट्यूबाटै हटाइएको छ ।
काँग्रेसका केहि नेताले भने धमलाले बदनियतपूर्वक बजगाईलाई मदिरा पार्टीबाट ठाडै स्टुडियोमा ल्याएर बदनाम गराउन फसाएको बताए । मदिराले मातेको बेला ल्याएर अन्तर्वार्ता गराउनु पीत पत्रकारिता मात्र नभई अनैतिक कार्य हो । सार्वजनिक संचारमाध्यममा कस्तो अवस्थामा आउने भनेर पदीय गरिमा राख्न बजगाईंले पनि बुद्धि नपुर्याएकै हुन् ।
बजगाईंले अन्तर्वार्ता दिने बेला ‘रातो क्याप टोपी’ समेत पछाडि फर्काएर लगाएका थिए । यो दृश्यले टोपी सांसदले लगाएको नभएर ¥यापरले लगाएको भान दिलाउँथ्यो । अरु पहिरन समेत नमिलेर कच्याककुचुक देखिन्छ । पछि उनले आफ्नो क्याप घुँडामा राखेर अन्तर्वार्ता दिएका छन् ।
काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीबीच भएको गठबन्धनको अवसर छोपेर गोरखा–१ बाट निर्वाचित कांग्रेस सांसद बजगाई पर्यटन व्यवसायमा समेत विवादित व्यक्ति हुन् । उनी काँग्रेस नेता डा. शेखर कोइराला निकट मानिन्छन् ।
अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जाललगायतमा चर्को आलोचना भइरहेका बेला बजगाईंले भने आफ्नो खुट्टा तानिएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा हेलिकप्टर चढ्न लागेको भिडियो पोस्ट् गरेर उनले आफू जनताको सेवामा लागेकाले कसैले खुट्टा तान्दैमा केही फरक नपर्ने आशय प्रकट गरेका छन् ।
उनले अंग्रेजीमा लेखेका छन्, ‘म जनताको सेवामा छु । तिनीहरूलाई मेरो खुट्टा तान्न देऊ ।’
रक्सीले झ्याप भएको मान्छेसँग अन्तरवार्ता लिएर धमलाले फेरि भाइरल हुने रहर गरेका हुन् भन्ने आरोपलाई धमलाले पनि अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘उहाँलाई हामीले अन्तरवार्ताका लागि बोलाएका थियौं । भनिएको समयमै आउनुभयो । आउनासाथ मुख सुँघ्ने कुरा आएन । गन्ध आएको पनि थाहा पाइनँ । त्यसैले अन्तरवार्ता सुरु गरिहालेँ ।’