Ad Banner

कोशीमा पनि केन्द्रकै सिको, एमाले सरकारबाट बाहिरिएला ?

साझा कथा । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दैगर्दाको दृश्य कोशी प्रदेशमा दोहोरिएको छ । काँग्रेससँग आलोपालो प्रधानमन्त्री हुने सहमति काँग्रेसले उल्लंघन गरेपछि अन्तिम घडीमा प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बने तर विश्वासको मत पाउने दिन काँग्रेसको समेत विश्वास पाए । त्यसपछि एमाले नैतिकताको आधारमा सरकारबाट बाहिरियो ।

ठिक यस्तै दृश्य कोशीमा पनि देखिँदै छ । माओवादी नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सत्तारुढ दलहरुको सहमतिमाथि विमति राख्दै काँग्रेसका डा. शेखर कोइराला पक्षधरहरुले कोशीमा विद्रोह गरे । र एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बने ।

तर बुधबार कार्कीले मागेको विश्वासको मतको पक्षमा काँग्रेसका सबै सांसद र माओवादी समेतले मत दिएको छ । कुल ९३ सदस्यीय प्रदेशसभामा ८६ जनाले कार्कीलाई विश्वासको मत दिएका छन् । दुईतिहाई बढी सांसदको समर्थन प्राप्त गरेपनि कार्कीको हालत प्रचण्डको जस्तै हुने भएको छ । डा. शेखर कोइरालाले सत्तारुढ दलको स्पिरिटमा लिखित सहमति गरेका कारण मुख्यमन्त्री कार्कीले माओवादी समेतलाई सरकारमा ल्याउनुपर्ने हुन्छ । त्यसो हुँदा कोशी प्रदेश सरकारमा सहभागी भइसकेको एमाले सरकारबाट बाहिरिन सक्छ । हुन त नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् ।

कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री प्रचण्डले देउवा–शेखरसहितको ‘चिर्केटो सम्झौता’ उद्धृत गर्दै उनी गठबन्धनकै मुख्यमन्त्री भएको बताएका थिए । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् । राप्रपाले भने कार्कीलाई विश्वासको मत दिएन ।

यो पढ्नु भयो ?