साझा कथा । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलको फितलो प्रदर्शनमा ब्रेक लागेको छ । एसिया कप होस् या चीनमा सम्पन्न एसियाड, कप्तान पौडेलको व्याटिङ फितलो देखिएको थियो । यी दुबै खेलमा निकै कमजोर प्रदर्शन गरेपछि कप्तानको रुपमा उनको व्यापक विरोध भएको थियो । सामाजिक सञ्जालमा कप्तानबाट उनलाई हटाउनुपर्ने सम्मका टिप्पणीहरु उठेका थिए ।
अहिलेसम्म २४ वटा टी २० अन्तर्राष्ट्रिय खेलेका रोहित पौडेलले जम्मा ४९२ रन जोडेका छन् । जसको औसत २०.५ रन हुन आउँछ । यस्तै ५४ वटा एकदिवसीय खेलहरुमा सहभागी भएका पौडेलले १४७४ रन जोडेका छन् । जसको औसत २७.२ रन हुन आउँछ । २४ टी २० मा अहिलेसम्म रोहितले ३ वटा अर्धशतक प्रहार गरेका छन् । उनले टी २० र एकदिवसीय दुबै प्रकारका खेलमा १ पटक मात्रै शतक प्रहार गरेका छन् ।
तर टी २० त्रिकोणात्मक सिरिजमा बुधबार यूएईविरुद्धको खेलमा पौडेलले कप्तानी पारी खेले । नेपाली दर्शकको हौसला भरपुर उपयोग गरेका पौडेलले ४० बल खेल्दै ५१ रन बनाए । पौडेलको प्रदर्शन बुधबार हेर्न लायकको थियो । उनलाई दह्रो साथ दिएका थिए विष्फोटक व्याटर दिपेन्द्रसिंह ऐरीले । ऐरीले २३ बलमा ३४ रन जोडेका थिए । यी दुई व्याट्सम्यानको उत्कृष्ट प्रदर्शनसँगै यूएई सात विकेटले पराजित भयो ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको लागि कुशल भुर्तेलले २४, आशिफ शेखले २३ र कुशल मल्लले ११ रनको योगदान गरे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएइले वसिल हमिदको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो । यूएईका बसिल हमिदले पनि ५१ रनको योगदान गरेका थिए । नेपाली बलर करण केसीले सर्वाधिक ३ विकेट लिएका थिए ।
नेपाल, हङकङ र यूएईबिचको त्रिकोणात्मक सिरिज बुधबारदेखि सुरु भएको हो । यो जितसँगै नेपालले सुखद सुरुवात गरेको छ ।