साझा कथा । ‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममार्फत जडान गरिएका सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले ‘उज्यालो नेपाल’ कार्यक्रमअन्तर्गत अहिले हरेक घरघरमा विद्युत् पुर्याउन देशैभर चलिरहेको विद्युतीकरण अभियान करिब दुई वर्षभित्रमा सम्पन्न हुने बताए ।
प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट शहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।