साझा कथा । नेपालीहरुको महान् चाड फूलपातीको दिन नेपालले खेलेको दुबै क्रिकेट प्रतियोगितामा सफलता हात लागेको छ । काठमाडौंमा जारी त्रिकोणात्मक श्रृंखलामा हङकङलाई सहज रुपमा हराउँदै नेपाल फाइनलमा पुगेको छ भने उता यू–१९ प्रिमियर कपमा जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ ।
काठमाडौंस्थित मुलपानी रंगशालामा भएको त्रिकोणात्मक खेलमा नेपालले लगातार तेस्रो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीमा नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ ।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । उसका लागि अंशुमन रथले सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २/२ विकेट लिए भने दीपेद्र सिंह ऐरी र डेब्युटेन्ट प्रतिश जिसीले एकएक विकेट लिए ।
यसअघि टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । यस अघि भएको खेलमा यूएई र हङकङ दुबैलाई नेपालले जितेको थियो । त्रिकोणात्मक श्रृंखलामा यो नेपालको तेस्रो जित हो । नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ ।
यस्तै, जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाउन सफल भएको छ । एसिया कपको छनोटका रुपमा रहेको यू–१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले जापानमाथि सहज जित निकालेको हो । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२ दशमलव १ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल प्रभावित भयो ।
खेल रोकिनुअघि आकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए । त्यसअघि दिपक बोहोराले ७९ र अर्जुन कुमालले १० रन बनाएका थिए ।
भारी वर्षापछि नेपालले थप ब्याटिङ गर्न पाएन र डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जापानले २५ ओभरमा १८७ रनको लक्ष्य पायो । तर, नेपाली खेलाडीको घातक बलिङ सामु जापान लामो समय क्रिजमा टिक्न सकेन । जापान ११ दशमलव ४ ओभरमा ४३ रनमा मात्र सिमित हुन पुग्यो ।
नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन/तीन विकेट लिए भने सुवास भण्डारीले २ र आकाश चन्दले एक विकेट लिए । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएई, भारत र पाकिस्तानसँग खेल्नेछ ।