साझा कथा । पछिल्ला खेलहरुमा लगालग यूएईविरुद्ध शानदार जित निकाल्दै आएको नेपाल त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनलमा उसैसँग पराजित भएको छ । खाडी देश यूएईले शुक्रबार नेपाललाई ४ विकेटले हरायो । हङकङसमेत सहभागी शृङ्खलाको लीगका सबै चार खेल जितेको नेपालले कीर्तिपुर क्रिकेट मैदानमा खेलिएको फाइनलमा यूएईलाई पन्छाउन सकेन ।
टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको यूएईले नेपालको कमजोर व्याटिङको फाइदा उठाउँदै १६२ रनमा समेट्यो जसलाई उसले कठिनपूर्वक पार लगायो । लिगका चार वटै खेलमा रन बनाउन नसकेका ओपनर कुशल भुर्तेलले फाइनलमा भने राम्रो प्रदर्शन गरे । ५० रनको अर्धशतकिय पारी खेलेका कुशलको यो छैटौँ टी–२० आई अर्धशतक हो ।
कुशलबाहेक अन्य नेपाली ब्याटरहरूले भने रनको लागि सङ्घर्ष गर्नुपर्यो । पछिल्लो समय ब्याटिङमा निकै प्रगति गरिरहेका खेलाडीहरुको व्याट यूएई विरुद्धको यो खेलमा सङ्घर्ष गरिरहेको थियो । नेपालका पाँच प्रमुख खेलाडीहरू बोल्ड भएका थिए ।
पहिलो १० ओभरमा ९५ रन जोडेको नेपालले त्यसपछि १० ओभरमा जम्मा ६७ रन मात्र जोड्न सकेको थियो । सदाझैँ कप्तान रोहित पौडेल शुक्रबार पनि निरीह बने । पछिल्लो समय अपवाद बाहेक रोहितको प्रदर्शन फितलो हुन थालेको छ । ओपनर आशिफ शेख र कुशल मल्ल सातौँ ओभरमा पभिलियन फर्केपछि अर्धशतक बनाएका कुशल भुर्तेल पनि अर्को ओभरमा आउट भए । त्यसपछि खेल सम्हाल्न आएका कप्तान रोहित पौडेल (१७ रन) र दीपेन्द्र सिंह ऐरी (२० रन) ले पनि इनिङ्स टिकाउन सकेनन् । फलस्वरुप यूएई खेलमा हाबी भएको थियो ।
नेपाल पराजित भएपनि त्रिकोणात्मक श्रृंखलाको प्लेयर अफ दि सिरिज अवार्ड भने नेपाली खेलाडी करण केसीले पाएका छन् । समग्र प्रतियोगितामा गरेको प्रदर्शनका कारण करण प्लेयर अफ दि सिरिज बने । उनले मोटरसाइकल उपहार प्राप्त गरेका छन् । १० विकेट लिएका उनी वेष्ट बलर समेत घोषित भए । वेष्ट ब्याटर भने यूएईका कप्तान वासिम हमिद बने ।