कवड्डीमा कलावतीको सफलता ‘स्कुलमा कप्तानदेखि एसियालीसम्म’

साझा कथा । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ वर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन् ।

बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरु गरेर पूरा गरिदिइन् । स्कुलमा कवड्डी खेल्न थालेको तीन बर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको शिखरमा पुर्‍याइन् । शिक्षकको सहयोगको भरमा कवड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा महिला कवड्डी टोलीको महत्वपूर्ण खेलाडी थिइन् । उक्त प्रतियोगितामा काष्य पदक बिजेता महिला कवड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए ।

उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आवद्ध रहेपनि कलावती भने सुदूरपश्चिमबाटै छनौट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन् । कलावती पन्त भन्छिन् “ हामी कलेज पढ्दै र घरको पनि काम गर्दै छनौटमा पर्नु सामान्य कुरो होइन् विभागीय टोलीमा रहेका खेलाडीहरूले नियमित प्रशिक्षणदेखि हरेक कुरामा ध्यान दिएका हुन्छन् ।”

स्कूलस्तरमा हुने कवड्डी प्रतियोगितामा कलावतीले धर्मजनता माविबाट टोलीकोको कप्तानी गरिन् । त्यहाँ हुने प्रायः प्रतियोगितामा उनको टोली सधै प्रथम भयो । केही बर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले सुदूरपश्चिमको टोलीबाट पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाएको बताइन् ।

हाल स्नातक तह अध्ययनको तयारीमा रहेकी कलावतीले आफू पनि विभागीय टोलीमा आबद्ध भएर जागिर खाँदै खेलमा अघि बढ्ने चाहना व्यक्त गरिन् । राज्यले लगानी र नियमित प्रशिक्षणमा ध्यान दिए खेलमा अझ बढी माथि पुग्न सकिन्छ भन्ने चीनको एसियाली कपले सिकायो पन्तले भनिन् । सामान्य परिवारमा हुर्किएकी कलावतीको पारिवारिक खर्च बुवा विक्रम पन्तले भारतमा मजदुरी गरेर टार्दै आएका छन् । तीन बहिनी र दुई भाईमध्ये बहिनीबाट कान्छी हुन् कलावती ।

“बुबाले भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गरेर हामीलाई यहाँसम्म पुर्‍याउनुभयो।” अब खेलसँगै परिवारमा खुसी थप्ने जिम्मा हाम्रो पनि काँधमा आएको छ।” उनले बताइन् । साथै राज्यका लागि एसियालीमा पदक ल्याउँदा काठमाण्डौँमा प्रोत्साहन र सम्मान मिले पनि गृहप्रदेश र जिल्लामा भने कुनै वास्ता नभएको गुनासो उनले गरिन्।

“विभागीय टोलीमा रहेका प्रायः सबै खेलाडीहरू पदक जितेर र राम्रो प्रर्दशन गरेर आएपछि सम्मानित र पुरस्कृत भएका फोटोहरू सामाजिक सञ्जालमा धेरै नियालेँ।” कलावती भन्छिन्, “सायद विभागीय टोलीमा भएको भए म पनि सम्मानको भागेदार हुन्थे होला।”

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?