साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत महिना संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका थिए । सोहि कार्यक्रममा प्रचण्डले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रचण्डले गुटेरेस मात्रै होइन महासभामा सहभागी भएका विभिन्न देशका कार्यकारी प्रमुखहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । उनको निमन्त्रणालाई स्वीकार गर्नेहरुको सूची लामै छ तर पहिलो भ्रमण भने गुटेरेसबाट सुरु भएको छ । प्रचण्डकै भनाई पत्याउने हो भने केहि दिनपछि अरबका राजा समेत नेपाल भ्रमणमा आउनेछन् ।
मित्र राष्ट्रहरुका राष्ट्राध्यक्ष वा कार्यकारी प्रमुखहरुको नेपाल भ्रमण हुनु नेपालको लागि सुखद पक्ष रहेको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् । विश्व मानचित्रमा गरिब राष्ट्रको कुरुप पहिचान बनाएको नेपालमा विभिन्न शक्ति राष्ट्रका प्रमुखहरु आउँदा यसको कुटनैतिक महत्व त हुन्छ नै, राजनैतिक र आर्थिक पक्ष पनि अर्थपूर्ण हुन्छ । नेपालजस्तो सानो मुलुकलाई अन्य देशले महत्व दिँदा र राष्ट्रप्रमुख वा सरकारप्रमुखहरुले भ्रमण गर्दा यसले राजनैतिक रुपमा नेपालको स्वीकार्यता बढाउँछ भने पर्यटक आवागमनमा पनि ह्वात्तै वृद्धि हुने हुन्छ ।
गुटेरेस चार दिने भ्रमणका लागि नेपाल आएका छन् । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमणमा आएका गुटरेसले नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
१० बर्षे शसस्त्र युद्ध वैठानसँगै २०६३ सालदेखि सुरु भएको नेपालको शान्ति प्रक्रियाका केहि काम अझै सुल्झिन बाँकी छ । खासगरी सत्य निरुपणसँग सम्बन्धित विषयमा विवाद कायमै छ । नेपालको शान्ति प्रक्रिया सघाउनका लागि संयुक्त राष्ट्रसंघीय मिसन अनमिन नेपाल आएको थियो र सेना समायोजन अघि अनमिन फर्किएको थियो । राष्ट्रसंघको नेपाल चासो अहिलेसम्म पनि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छ ।
स्मरणीय छ, केहि दिन अघि मात्रै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाका बाँकी काम छिट्टै समाधान हुन लागेको बताएका थिए । गुटेरेसको भ्रमणअघि आएको प्रचण्डको अभिव्यक्ति अर्थपूर्ण छ । जानकारहरुका अनुसार गुटेरेसको यो भ्रमणसँगै दलहरुबीच नमिलेका संक्रमणकालीन न्याय लगायतका विवादित विषयहरु सल्टिएर जाने छन् । त्यसैको संकेतस्वरुप प्रचण्डले शान्ति प्रक्रियाका सबै काम सम्पन्न हुने बताएका हुन सक्छन् । त्यसअर्थमा पनि गुटेरेसको यो भ्रमण नेपालको लागि अत्यन्तै महत्वपूर्ण छ ।
आइतबार राती १ बजे काठमाडौं ओर्लेका उनले आजै राष्ट्रपति देखि प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुसागको शिष्टाचार भेटवार्ता गर्नेछन् । काठमाडौं आएर उनी कालिमाटीको सोल्टीमोडमा रहेको सोल्टी होटेलमा बसेका छन् । दिउँसो १ बजेसम्म त्यही विताउने उनले त्यसपछि भने उच्च भेटघाट गर्नेछन् । उनले सुरुमा सिंहदरवार पुगेर परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेर आफनो भेटवार्ता सुरु गर्नेछन् ।
परराष्ट्रमन्त्रीसँग उनको छोटो भेटवार्तापछि उनले उपप्रधान तथा राक्षामन्त्री पूर्णवहादुर खड्कासँग भेट गर्ने कार्यतालिका बनेको छ । २ बजे उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसाग भेटेपछि प्रधानमन्त्रीसँग भेट्ने तालिका बनेको छ ।
प्रधानमन्त्री प्रचण्डसँग उनले सवा २ बजे देखि आधा घण्टा भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीसँगको भेटपछि महासचिव गुटेरेसले सिंहदरवारमै सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्नेछन् । करिव १५ मिनेट सञ्चारकर्मीहरुसँग कुराकानी गरेपछि उनले पूर्व प्रधानमन्त्रीहरुसँग आलोपालो अलग अलग भेटवार्ता गर्नेछन् । त्यसका लागि उनले पूर्व प्रधानमन्त्रीहरुसँग नयाँ बानेश्वरस्थित संसद भवनमा सम्वन्धित दलको कार्यालयमा भेटघाट गर्नेछन् ।
शुरुमा उनले पूर्व प्रधानमन्त्रीहरुमा कांग्रेस सभापति शेरवहादुर देउवासँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटने कार्यतालिका बनेको छ । पूर्व प्रधानमन्त्रीहरुसँगको भेट महासचिव गुटेरेसले करिव १५ मिनेटका आधारमा छुट्टाएका छन् । पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिसकेपछि उनी पौने ४ बजे नयाँ बानेश्वरबाट राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टाचार भेटका लागि शितल निवास पुग्नेछन् ।
उनले राष्ट्रपति पौडेलसँग करिव आधा घण्टा भेट गर्नेछन् । त्यसपछि भने उनी ललितपुरको पाटन पुग्नेछन् । उनले पाटन दरवार स्वायर अवलोकन गरेर फेरि सञ्चारकर्मीहरुसाग त्यहाँ पनि छोटो अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भने उनी साँझ साँढे ५ बजे आफु बसेको होटल सोल्टी पुग्नेछन् ।
त्यहाँ उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रात्री भोजको आयोजना गर्नेछन् । उनी त्यहाँ सहभागी हुने कार्यक्रम साँझ ७ बजे रहेको बताईएको छ ।
गुटेरेस लुम्बिनी भ्रमणमा पनि जानेछन् । भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर समेत जाने कार्यक्रम बनेको छ । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।