प्रचण्डसँग भेटेपछि राष्ट्रसंघका महासचिव गुटेरेसले भनेका तीन महत्वपूर्ण विषय

साझा कथा । आफ्नो चार दिने भ्रमणको शिलशिलामा नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटे र मुख्यरुपमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल गरे । प्रचण्डसँग भेट्नुअघि गुटेरेसले रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटे । द्वन्द्वकालीन समयमा नेपाली सेनाद्वारा भएको मानवअधिकार उल्लंघनका विषयमा गुटेरेसले चासो व्यक्त गरे । गम्भीर खालका मानवअधिकार उल्लंघनका घटनामा राष्ट्रसंघले मिलाप नगर्ने बरु मुद्दामार्फत निरुपण गर्ने राय राख्दै आएको छ । नेपालमा युद्धको समयमा बलात्कार, व्यक्ति हत्या र जबर्जस्ती बन्धक बनाउने कार्य नेपाली सेना र माओवादीका तर्फबाट पनि भएका थुप्रै घटना छन् । राष्ट्रसंघको चासो भने कैदीबन्दीहरुमाथि भएको बलात्कार र हिंसाका घटनामा छ, जसमा नेपाली सेना प्रमुख रुपमा मुछिएको छ ।

रक्षामन्त्रीपछि प्रधानमन्त्री प्रचण्डसँगको भेटमा गुटेरेसले यहि विषयमा बढी चासो राखेको स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेसले युद्धकालीन मुद्दाहरुलाई किनारा लगाउने गरी मध्यमार्गी बाटो अपनाउन सुझाव दिएको बताइएको छ । त्यो मध्यमार्गी बाटो भनेको गम्भीर प्रकृतिका केहि घटनाबाहेक अरु मुद्दामा मेलमिलाप गर्ने, पीडितलाई रकममा क्षतिपुर्ति दिने, माओवादी नेतामाथि लागेको मुद्दालाई अदालतबाट सत्य निरुपण मेलमिलाप आयोगमा पठाउने र त्यहिँबाट सुल्झाउने हो ।

प्रचण्डसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले त्यहि कुराको संकेत गरे । उनले नेपालको शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न हुने बताए । शान्ति प्रक्रिया सम्पन्न गर्नका लागि देखिएका व्यवधान समाधानमा सबै दलहरुलाई एक हिसाबले खबर पठाइसकेका गुटेरेसले पत्रकार सम्मेलनमा विश्वस्त देखिए । नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन राष्ट्रसंघ तयार रहेको बताएका उनले तर यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने शर्त राखे । शर्त राखेजस्तो सुनिएपनि अन्तर्यमा गुटेरेस मध्यमार्गी बाटो अपनाउनका लागि दलहरुलाई सुझाव दिइरहेका छन् । अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्ने उनको बचन छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उठाएको अर्को महत्वपूर्ण विषय हो, इजरायल हमास युद्ध र त्यसले नेपालमा पारेको प्रभाव । हमासको आक्रमणपछि इजरायलमा हराइरहेका नेपालका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गरेका गुटेरेसले सबै बन्धकहरू विनासर्त रिहाई हुनुपर्ने बताए । हमासले गरेको आक्रमणको भत्सर्ना गर्दै उनले निहत्था नागरिकहरुमाथिको आक्रमण कुनै पनि अवस्थामा न्ययोचित नहुने बताए ।

‘अहिलेका समयहरु धेरै जटिल र तनावपूर्ण छन् । धेरै माइल टाढाको मध्यपूर्वमामा भएको द्वन्द्वले नेपालका जनताहरुलाई पनि नजिकबाट प्रभावित पारेको छ,’ महासचिव गुटेरेसले भने, ‘हमासले गरेको आंतकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति उनीहरुका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराईरहेका विपिन जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना गर्दछु ।’ कतार हुँदै नेपाल आएका उनले गाजा क्षेत्रको आक्रमण केही घण्टादेखि झन् भयावह बन्दै गइरहेको बताए । ‘मानवीय सहायताका लागि पनि विश्राम जरुरी छ तर इजरायलले आक्रमण गरिरहेको छ यसप्रति म खेद प्रकट गर्दछु,’ गुटेरेसले भने । अमेरिका, युरोप लगायतका मुलुकहरु इजरायलको पक्षमा देखिएको बेला संयुक्त राष्ट्रसंघले इजरायलको भत्र्सना गर्नु अर्थपूर्ण छ ।

गुटेरेसले उठाएको तेस्रो महत्वपूर्ण विषय हो, जलवायु परिवर्तन र त्यसको असरको मुद्दा । संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने पनि बताए । नेपाल विकासोन्मुख देशमा बढुवा हुन लागेको बताउँदै उनले शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको बताए ।

उनले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको बताउँदै त्यसलाई हल गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताए । ‘विकसित देशहरूले नेपाल जस्तो राष्ट्रलाई कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको ठूलो खतरासँग जुध्न मद्दत गर्नुपर्छ,’ उनले भने, ‘यस यात्रामा म जलवायु संकटको भयावह प्रभाव आफैं हेर्न हिमालयको भ्रमण गर्नेछु ।’

उनले भगवान बुद्धको शान्तिको शिक्षा अहिलेको समस्याग्रस्त संसारमा पहिले भन्दा सान्दर्भिक रहेको बताउँदै आफूले लुम्बिनीको पनि भ्रमण गर्न लागेको उल्लेख गरे ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?