साझा कथा । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत नेपालले शानदार सुरुवात गरेको छ । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा २१ बल बाँकी छँदै लक्ष्य भेट्टायो । आठ विकेटले विजयी हुँदै नेपालले विश्वकप छनोट खेलमा सुखद सुरुवात गर्यो ।
किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए । टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले बलिङ, फिल्डिङ र व्याटिङ तीन वटै विधामा राम्रो प्रदर्शन गर्यो । टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका लागि पहिलो ओभर बलिङ गर्न आएका करण केसीले दोस्रो बलमै पहिलो विकेट लिएर नेपाली दर्शकमाझ खुशी छरे । व्याटिङको चरणमा पनि ओपनर कुशल भुर्तेलले पहिलो ओभरमै चौका र छक्का प्रहार गरेर दर्शकमाझ खुशी विस्तार गरे । भुर्तेलको व्याटले सोमबार चमत्कार नै गर्यो । पहिलो विकेटको रुपमा आसिफ आउट भएपछि आएका कप्तान रोहित पौडेलले पनि राम्रो प्रदर्शन गरे । अधिकाँश खेलमा फितलो प्रदर्शन गर्ने कप्तान रोहितले सोमबारको खेलमा उत्कृष्ट प्रदर्शन गरे । फिल्डिङमा पनि उनी जमेका थिए । फर्ममा देखिएका भुर्तेललाई सघाउन रोहितको ठूलो भूमिका थियो । चौथो विकेटको रुपमा कुशल मल्ल आउँदा नेपाललाई जित्नका लागि जम्मा ४ रनको आवश्यता थियो । आक्रामक व्याटिङ गर्ने मल्लले पहिलो बलमै छक्का प्रहार गरे । अनि नेपाललाई जित दिलाए ।
उनीभन्दा अघिल्लो बल खेलेका भुर्तेल पनि छक्का प्रहार गर्दै इनिङ समाप्त पार्न चाहन्थे । तर उनी क्याच आउट भए । त्यसपछिको बलको सामना गरेका मल्लले छक्का नै प्रहार गरेपछि भुर्तेलको इच्छा पुरा गरेजस्तै माहौल बन्यो ।
समुह चरणको दोस्रो खेलमा नेपालले भोलि मंगलबार मलेसियासँग खेल्नेछ । समुह चरणको अन्तिम खेलमा बिहिबार ओमानसँग खेल्ने तालिका छ ।