इजरायल हमास युद्धको पीडा – एक सुत्केरी पत्रकारको अनुभव

साझा कथा । इजरायल र प्यालेष्टाइनी समूह हमासबीच एक महिनादेखि युद्ध जारी छ । हजारौँ व्यक्तिहरुको मृत्यु भइसकेको छ भने अरु हजारौँ घाइते भएका छन् । लाखौँ व्यक्तिहरु घरबार विहिन भएका छन् । गाजा सहर भग्नावशेषमा परिणत हुँदैछ । हमासले अक्टोबर ७ तारिखमा इजरायलका १४ सय मानिसको ज्यान लियो र दुई सयभन्दा बढीलाई बन्धक बनायो । जवाफमा इजरायलले पनि गाजामा हवाई हमला गरिरहेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले ती हमलाहरूमा नौ हजारभन्दा बढी मानिसहरूको ज्यान गएको जनाएको छ । इजरायल हमास युद्धका कारण वृद्धवृद्धा र बालबालिकाहरु बढी जोखिममा परेका छन् । सँगै गर्भवति र सुत्केरीहरुको अवस्था दर्दनाक भएको छ ।

संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या कोष (युएनएफपीए)ले गाजामा करिब ५०,००० महिलाहरू गर्भवती भएको र त्यसमध्ये ५,५०० ले अबको ३० दिनभित्र जन्म दिने ठानिएको अनुमान गरेको छ । युएनएफपीएले अस्पतालहरू भरिभराउ भएको र त्यहाँ औषधि र आधारभूत सामाग्रीहरू पनि अभाव हुँदै गएको जनाएको छ ।

यहीबीचमा गाजा निवासी एकजना पत्रकार जुमाना इमाद आमा बन्दै थिइन् । गर्भवति चरणमा अन्तिम दिनमा उनको जिउ जति भारी थियो, त्यो भन्दा ठूलो भारी टाउकोमा थियो । त्यो भारी तनाव र डरको थियो । जुमानाले आफ्नो बच्चालाई दिन दिने दिन नै हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यो बेलाको क्षण र आफ्नो अनुभव जुमानाले सार्वजनिक गरेकी छन् ।

युद्धका कारण खानेकुरा किन्नका लागि जान सक्ने अवस्था भएन । बिजुली नभएको, इन्टरनेट सेवा नभएको र पानीको अभाव भएको जस्ता कठिन अवस्था भइसकेको थियो । त्यसमाथि त्यस्तो कठिन अवस्थामा डर र चिन्ताका माझ बच्चा जन्माउनुपर्ने बाध्यता थियो ।

आफ्नो बच्चालाई जन्म दिने अन्तिम चरणमा पुग्दा बढ्दै गएको भारी जिउको तस्बिर खुसी भएर उनले शेअर गरिरहेकी थिइन् । उनलाई आफूले जन्माउँदै गरेको बच्चा छोरी हो भन्ने थाहा थियो । उनका पति निकै उत्साही थिए । अस्पताल जानका लागि झोला तयारी अवस्थामा थियो । चार वर्षीया पहिलो छोरी टुलिन आफ्नी बहिनीको मुख हेर्न आतुर थिइन् । त्यति नै बेला नसोचेको भइदियो । उनी डराइरहेकी थिइन्, निरन्तर बमबारी भइरहँदा जुमानालाई सुत्केरी बेथाले च्यापिसकेको थियो ।

हमासको आक्रमण लगत्तै गाजामा बस्नेहरुलाई इजरायलले आफ्नो घर छोडेर भाग्न आग्रह गर्यो । किनकी उसले अन्धाधुन्ध जवाफी फायरिङ गर्दै थियो । २५ वर्षीय पत्रकार जुमानाले इजरेलको आदेश मानिन् र उत्तरमा रहेको आफ्नो घर छोडिन् । इजरायलले हमला थालेको दुई दिनपछि उनी गाजा छाडेर दक्षिण तिर लागिन् ।

भयभीत र ९ महिने गर्भवती जुमानाले चार वर्षीया छोरीलाई आफन्तको घरमा लगिन् । एक जोर लुगा एक बाकस दूध र छोरीका लागि एउटा सानो झोला मात्रै उनले लगेकी थिइन् । उनको शरिमा जति कठिन अवस्था बढ्दै थियो, बाहिरको अवस्था पनि उत्तिकै कठिन भइसकेको थियो ।

युद्धका कारण खानेकुरा किन्नका लागि जान सक्ने अवस्था भएन । बिजुली नभएको, इन्टरनेट सेवा नभएको र पानीको अभाव भएको जस्ता कठिन अवस्था भइसकेको थियो । त्यसमाथि त्यस्तो कठिन अवस्थामा डर र चिन्ताका माझ बच्चा जन्माउनुपर्ने बाध्यता थियो ।

अक्टोबर १३ तारिखमा जुमानालाई सुत्केरी बेथा लाग्यो । उनले पहिला त गाजा सहरमा रहेको अलशिफा अस्पतालमा जाने योजना गरेकी थिइन् जुन एकदमै ठूलो अस्पताल हो । तर त्यहाँ धेरै नै चाप छ भन्ने उनले थाहा पाइन् । त्यसैले उनी गाजा क्षेत्रको मध्ये भागमै रहेको अर्को एउटा सानो अस्पताल अल–अदामा गइन्।

त्यहाँ जान पनि कठिन थियो । पीडा र बेथामा जुमानाले आफूलाई अस्पतालसम्म पुर्‍याइदिन कसैसँग मद्दत मागिन् । ट्याक्सी चालकहरू त्रसित थिए र बच्चा जन्माउन लागेका महिलालाई अस्पताल पुर्‍याउन एम्बुलेन्सहरूसँग समय थिएन । कसैको सहायतामा उनी अस्पताल पुगिन् । अस्पतालभन्दा पल्लो घरमा आक्रामक बमबारी भइरहेको थियो र त्यसको आवाज निकै ठूलो थियो । जुमानाले त अस्पतालमै बमबारी हुन थाल्यो भन्ठानिन् । घाइते मानिसहरूलाई अस्पताल निरन्तर रूपमा ल्याइएको थियो । मानिसहरू चिच्याइरहेको सुन्न सकिन्थ्यो । जुमाना भने चार वर्षीया छोरीबारे सोचिरहेकी थिइन् । किनकी उनी आफन्तको घरमा थिइन् ।

तर जस्तो सुकै परिस्थिति भएपनि जुमानालाई बच्चा जन्माउनु त छँदै थियो । घण्टौँको सुत्केरी व्यथापछि जुमानाले छोरीलाई जन्म दिइन् जसको नाम टालिया राख्ने उनले निधो गरिन् । उनको नामको अर्थ हामी सबै जीवितै छौँ भन्ने थियो ।

पीडा र रक्तस्रावका बीच उनले शय्या पाउन लामो समय कुर्नुपर्यो । उनले देखेकी थिइन् केहि महिलाहरूले त बस्ने लामो सोफा वा अस्पतालको भुईँमै पनि सुत्केरी भए पनि सुत्नुपरेको थियो । बच्चा जन्मिएको भोलिपल्ट छोरीलाई सेतो ओढ्नेले बेरेर काखमा राखेको भिडि‌ओ उनले सार्वजनिक गरेकी थिइन् । बिजुली नहुँदा लिफ्टले काम गर्न छोडेको थियो । अस्पतालको चौथो तलामा रहेकी जुमाना बच्चा जन्माएपछिको पीडामा थिइन् र हातमा नवजात शिशु च्यापेर उनी आफैँ भर्‍याङबाट ओर्लिनु परेको थियो ।

अस्पतालबाट बाहिर निस्किएपछि पनि आफू बस्ने ठाउँसम्म जानका लागि यातायातको सुविधा पाउन उनलाई कठिन भयो । ट्याक्सी भेट्टाउनै एक घण्टा लाग्यो । कुनै पनि चालकले लैजान मान्दैन थिए । त्यो बिहान त्यहाँ नजिकै बमबारी भएका कारण उनीहरू पनि डराएका थिए । अन्तिममा एउटा चालक भेटियो तर उसले धेरै भाडा माग्यो तरपनि घर अगाडिसम्म पनि लगिदिएन ।

जुमानाले यस्तो कठिन अवस्था गजारेपछि भनेकी छन्, ‘म मानसिक रूपमा निकै थाकिसकेँ । केही गर्ने इच्छा पनि म मा छैन ।’ तर टालिया भने राम्ररी हुर्किरहेकी छन् ।

जुमानाले आफ्नो परिवारको भविष्य के हुने हो थाहा नभएको बताइन् तर छोरी नयाँ सदस्यका रूपमा आएकोमा आफू कृतज्ञ भएको बताइन् । ‘युद्ध र मृत्युको यो जीवनमा उनी मेरो आशा हुन्,’ जुमानाले भनेकी छन् ।

-बीबीसीको सहयोगमा

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?