साझा कथा । घरेलु मैदानमा भइरहेको टी-२० विश्वकप एसिया छनोटको खेलमा अघिल्लो दिनको लय समात्न सके नेपाललाई आज हुने मलेसिया विरुद्धको खेलमा जित निकाल्न सहज हुनेछ । आजको खेल दिउँसो सवा १ बजे कीर्तिपुस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
पहिलो खेलमा अलराउन्डर दिपेन्द्रसिंह ऐरीको अनुपस्थितिमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपाल मलेसियासँग पनि सोही परिणाम निकाल्ने दाऊमा छ । सिंगापुरलाई ८ विकेटले हराउँदा नेपाली बलर र व्याटर दुबैले उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङमा जमेका कुशल भुर्तेल र आसिफ शेखको साझेदारी खेलमा सबैभन्दा महत्वपूर्ण रह्यो । कुशल र आसिफले ८४ रनको साझेदारी गर्दा भुर्तेलले अर्धशतक बनाए । सोही परिणाम नेपालले १४६ रनको लक्ष्य २१ बल अगाडि पूरा गरेर नेपालले खेल आफ्नो हातमा पार्यो ।
पहिलो खेलमा प्राप्त जितको लयलाई नेपालले आज हुने मलेसियासँगको खेलमा निरन्तरता दिन आवश्यक छ । मलेसियाले पहिलो खेलमा ओमानलाई टक्कर दिएको थियो तर १५४ रनको लक्ष्य पछ्याउने क्रममा ३२ रनले पराजित भएको थियो ।
पछिल्ला खेलमा समेत नेपालले लगातार मलेसियालाई हराउँदै आएकोले आजको खेलमा पनि सोही लय कायम राख्दै नेपाल जित निकाल्ने योजना छ । यसअघि भएका टी-२० आईको ८ खेलमा नेपाल ७ पटकको विजयी हो भने मलेसियाले केवल एक पटक विजयी भएको छ । त्यस्तै, २०१९ मा नेपाल इन मलेसिया टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । २०१९ मै भएको आईसीसी विश्वकप टी-२० क्वालिफायर एसिया रिजन फाइनलमा पनि नेपाल ७ विकेटले मलेसियासँग विजयी थियो ।
त्यस्तै, २०२१ मा भएको त्रिकोणात्मक सिरिजमा पनि नेपालले मलेसियालाई दुबै खेलमा जितेको थियो । पछिल्लो पटक २०२२ मा भएको त्रिकोणात्मक टी-२० शृङखलामा पनि नेपाल पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ८५ रनले विजयी भएको थियो । यी सबै हेड टू हेडलाई हेर्ने हो भने नेपाललाई आजको खेल सहज छ । तर, अलराउण्डर दिपेन्द्रसिंह ऐरीको अभाव र नेपालले आफ्नो लय समात्न सक्छ कि सक्दैन भन्ने आशयले मात्र नेपाललाई आजको खेल चुनौतिपूर्ण छ ।