Ad Banner

गुटेरेसले नेपालमा चर्चा गरेका तीन महत्वपूर्ण विषय

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि कात्तिक १२ गते नेपाल आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस फिर्ता भएका छन् । भ्रमणको क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता मात्रै गरेनन् नेपाल सरकारका उपप्रधानमन्त्रीहरुसँग पनि भेटे । उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग अगल–अलग भेटवार्ता गरे ।

गुटेरेसले नेपाल भ्रमणको क्रममा तीनवटा महत्वपूर्ण सवाल उठाएर गएका छन् । जसले गम्भीर अर्थ बोकेको छ र नेपालको हितमा प्रयोग हुने सम्भावना छ । उनले जोडतोडले उठाएको महत्वपूर्ण मुद्दा हो जलवायु परिवर्तनको असर र त्यसले नेपाललाई पारेको प्रभाव । उनले सगरमाथा बेस क्याम्पमा पुगेर विश्वलाई सन्देश समेत दिए । गुटेरसले जलवायु परिवर्तनका गम्भीर असरसँग नेपालले जुझ्नुपरिरहेको भन्दै त्यसका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्नेमा जोड दिए ।


उनले नेपालको संसदलाई सम्बोधन समेत गरे । आफ्नो सम्बोधनको सुरुवातमा नै संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपाल भ्रमणबाट आफूले धेरै कुरा सिकेको उल्लेख गर्दै जलवायु परिवर्तन विरूद्धको सङ्घर्ष र नेपालको विकासका लागि आफूले सिकेको कुरालाई प्रयोग गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाए । जलवायु परिवर्तनका चुनौती खेप्नु परिरहेका देशहरूमा नेपाल अग्रणी रहेको बताएका उनले नेपालले कूल शून्य उत्सर्जन हासिल गर्ने दिशामा प्रगति गरेको बताए । नेपालको करिब आधा भूभागमा वन क्षेत्रका कारण हरियाली रहेको चर्चा गरेका उनले विपद्को पूर्व चेतावनी दिने प्रणालीप्रति पनि प्रसन्नता व्यक्त गरे । तर नेपालमा अन्य विकासशील देशहरूजस्तै सङ्कटहरू बढिरहेको भन्दै उनले नेपाल बाढी पहिरो जस्ता मनसुनी प्रकोप, हिमनदी पग्लनेजस्ता विपद्हरूको चपेटामा परेको उनले सुनाए । सगरमाथा क्षेत्रको भ्रमण गरेर आफूले प्रत्यक्ष रूपमा नेपालले भोगेको जलवायु सङ्कट देखेको उल्लेख गर्दै उनले नेपाललाई सघाउनु विकसित देशहरूको दायित्व भएको पनि बताए।

नेपाल जलवायु परिवर्तनका कारण अहिले सबैभन्दा बढी दुःख पाउने मध्येको देश हो । तर नेपालका हिमनदीहरू सुक्दै गएकाले दक्षिण एशियाका अन्य देशहरू पनि नराम्रोसँग पीडित बन्नसक्नेछन् । उनले यहि विषयलाई जोडतोडले उठाउँदा विश्वको ध्यान आकृष्ट भएको छ । नेपाल र अन्य विकासशील देशहरूलाई अझ ठूलो परिमाणमा सहयोग आवश्यक रहेको भन्दै आर्थिक सहयोग गर्ने भनी प्रतिबद्धता जनाएका देशहरूले आफ्नो वाचा व्यवहारमा उतार्नुपर्ने बताएका कारण नेपालले आगामी दिनमा यसको फाइदा उठाउन सक्छ ।

गुटेरेसले नेपाल भ्रमणको क्रममा उठाएको दोस्रो महत्वपूर्ण सवाल हो, नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय । नेपालको शान्ति प्रक्रियामा हालसम्म गतिरोध खेपिरहेको सङ्क्रमणकालीन न्यायको विषय राष्ट्रसङ्घका महासचिवको गम्भीर चासोको विषय हुनु आफैँमा महत्वपूर्ण छ । नेपालको शान्ति प्रक्रियामा सघाएको राष्ट्रसंघले यसलाई टुंगोमा पुर्याउन सहयोग गर्ने बचन दिइरहेको छ ।

‘नेपालीले नेतृत्व लिएको नेपालको शान्ति प्रक्रियाप्रति सन्तोष व्यक्त गर्दै महासचिव गुटेरसले सङ्क्रमणकालीन न्यायले दीर्घकालीन शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने तर यो सजिलो नभएको उल्लेख गरे । पीडितहरूलाई केन्द्रमा राखेर समावेशी प्रक्रिया अवलम्बन गर्दामात्रै यो सफल हुने बताएका उनले अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशलाई सम्मान गरिनुपर्ने बताइरहेका छन् । नेपालीले नेतृत्व गर्ने त्यस्तो प्रक्रियालाई समर्थन गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको उनको भनाई छ ।

तत्कालीन सरकार र विद्रोही पक्ष नेपाल कम्युनिस्ट पार्टी माओवादीबिच शान्ति सम्झौता भएको आउँदो मङ्सिर ५ गते १७ वर्ष पुग्दै छ । माओवादी सेना समायोजन र हतियार व्यवस्थापन जस्तो जटिल कार्य पूरा भए पनि द्वन्द्वकालीन मुद्दा १७ वर्ष पुग्दासमेत टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो तेस्रो कार्यकाल नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन लागिपरेका छन् । प्रधानमन्त्रीकै निमन्त्रणामा नेपाल भ्रमणमा आएका गुटेरेसले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयलाई शीर्ष नेतृत्वसँगको भेटघाट र औपचारिक कार्यक्रममा समेत उच्च प्राथमिकतामा दिए ।

तेस्रो विषय हो, नेपालले दिगो विकासको लक्ष्य प्राप्तिका लागि हासिल गरेका उपलब्धीहरु । राष्ट्रसङ्घ समेतको सहयोग लिएर एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै नेपाल शान्ति प्रकृयामा प्रवेश गरेको थियो । महासचिव गुटेरसले उक्त प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसङ्घ गौरवान्वित रहेको बताए । गणतन्त्र लगायतका उपलब्धिको चर्चा गर्दै गम्भीर आर्थिक सङ्कटहरू रहेपनि दिगो विकासका लक्ष्यहरूमा नेपालले महत्त्वपूर्ण प्रगतिहरू गरिरहेको बताउँदै उनले महिला समावेशीकरण सहितका क्षेत्रमा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गरे । विश्व शान्तिका लागि शान्ति सैनिकहरू उपलब्ध गराएर नेपालले सहयोग गरेकोमा मुक्तकन्ठले प्रशंसा गरेका उनले नेपाललाई विश्वको मित्र भएको उल्लेख गरे । विश्व नेपालको अझ राम्रो साथी बन्नुपर्ने र त्यसलाई वास्तविकतामा बदल्न संयुक्त राष्ट्रसङ्घले लड्न नछाड्ने उनको जिकिर थियो ।

यो पढ्नु भयो ?