साझा कथा । आईसीसी टी – २० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा विहीबार समूह चरणको अन्तिम खेलमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा विहान ९ बजे हुनेछ ।
समूह चरणका दुबै खेल जितेका दुई टिम सेमिफाइनलमा भने प्रवेश गरिसकेको छ । आईसीसी टी – २० विश्वकप एसिया छनोटमा राम्रो प्रदर्शन गरेका नेपाल र ओमानबीचको भोलीको खेल रोचक हुने देखिएको छ । सेमिफाइनलका लागि हुनुपर्ने यो खेल दुबै टिमले दुबै खेल जितेका कारण यो सेमिफाइनलका लागि भन्दा पनि समूह विजेता र उपविजेता हुनका लागि महत्वपूर्ण देखिन्छ । किनकी, समूह विजेता भएमा समूह ‘बी’को उपविजेतासँग खेल्न पाउनेछ भने उपविजेता भएमा समूह ‘बी’को विजेतासँग खेल्नु पर्नेछ । तसर्थ, पनि दुबैले यो खेललाई महत्वका साथ लिएको छ र दुबै टिम समूह विजेता बन्दै सेमिफाइनलको खेल जितेर टी – २० विश्वकप खेल्न चाहन्छ ।
नेपाल र ओमानबीच टी – २० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म चार पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपालले तीन खेलमा जित निकालेको छ । नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई सहज रुपमा हराएको थियो । २०२२ को फेब्रुरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो । यो हिसाबले पनि नेपाललाई विहीबारको खेल जित्न मनोबल पुग्नेछ ।
त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको टी – २० सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपाल र ओमानबीच पहिलो टी – २० भने २०१९ को अक्टोबरमा भएको थियो । ओमानमा भएको सो खेलमा भने नेपालमाथि ओमानले ६ विकेटको जित निकालेको थियो ।