साझा कथा । आईसीसी टी २० विश्वकपको छनोट खेल खेलिरहेको नेपाल समूह विजेता बन्नबाट बञ्चित भएको छ । समूह विजेता हुनबाट बञ्चित भएपछि नेपालले अब सेमिफाइनलमा बलियो टिम युएईको सामना गर्नुपर्नेछ ।
विहीबार भएको ओमानविरुद्धको खेलमा नेपालको वलिङ पक्ष उत्कृष्ट थियो । तर जवाफी व्याटिङमा उत्रिएका नेपालले लय समात्न सकेन । ओपनर व्याट्सम्यान कुशल भुर्तेलले राम्रै प्रदर्शन गरेपनि अर्का ओपनर आसिफ शेखले खेल विगारे । भुर्तेलले सामना गरेको १८ बलमा १ चौका र ३ छक्का प्रहार गरे । तर आसिफले भने ८ बल खेल्दा जम्मा ५ रन बनाएर आउट भए । त्यसपछिको व्याटिङ ट्रेन्डमा परिवर्तन गर्दै कोच र कप्तानले सोमपाल कामीलाई मैदान उतारे । जुन निर्णय घातक र गलत साबित भयो । सायद तेस्रो विकेटको रुपमा कुशल मल्ललाई पठाएको भए खेलले अर्कै मोड लिन सक्थ्यो ।
सदाझैँ कप्तान रोहित पौडेलको विहीबारको प्रदर्शन पनि फितलो भयो । १२ बलको सामना गरेका रोहितले एउटा पनि छक्का, चौका प्रहार गर्न सकेनन् र १२ रनमै आउट भए । उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका कुशल मल्लको व्याट पनि चल्न सकेन । आजको खेल अघि नै मल्लको हातमा समस्या रहेको बताइएको छ । उनको बायाँ हात हल्का सुन्निएको छ ।
ओमान विरुद्धको खेलमा विवेक यादव भने हिरो साबित भए । विष्फोटक व्याटर दिपेन्द्रसिंह ऐरीको विकल्पमा मैदान आएका यादवले ५ वटा छक्का प्रहार गरे । नेपाललाई अन्तिम ओभरमा २६ रनको आवश्यकता थियो जुन असम्भव जस्तै थियो । तर यादवले लगातार ३ छक्का प्रहार गर्दै खेल नेपालको पक्षमा ल्याउँदै थिए । उनले दिपेन्द्रको अभाव पुर्ति त गरे तर दुर्भाग्यबस उनी क्याच आउट भए । यद्यपी उनले नेपाली टिममा आफू बलियो खम्बा रहेको पुष्टि गरेर गए । त्यसपछि मैदान आएका अविनाश बोहराले मैदानमा भिजिसकेका करण केसीको लागि भन्दै १ रन लिएर छोडे जतिखेर नेपाललाई १ बलमा ६ रन आवश्यक थियो जुन सम्भव पनि थियो ।
तर अन्तिम बलमा करण केसीको व्याटले लामो प्रहार गर्न सकेन र उनी क्याच आउट भए । करण आउट भएपछि ओमान ५ रनले विजयी हुँदै समूह ए को विजेता हुँदा नेपाल स्तब्ध भयो ।
जम्मा ११ बलको सामना गरेका करण केसीले १५ रन मात्रै बनाउन सके जुन उनीबाट अपेक्षित थिएन । सुरुवाति बलहरुमै उनले लामो प्रहार गर्नुपथ्र्यो जुन गरेनन् । सुरुवाति बलमा डट खेलेर करणले विष्फोटक व्याटिङ गर्ने आफ्नो विशेषतालाई धुमिल बनाए । जसकारण नेपाल पराजित भयो ।
अब सेमिफाइनल खेलमा नेपालले युएईको सामना गर्ने छ । समूह बीको विजेता बनेको युएईले विहीबार हङकङलाई २२ रनले पराजित गर्दै आफ्नो विजयी यात्रा जारी राख्यो ।