साझा कथा । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाउँदै ठूलो भूकम्प गएपछि ठूलो मानवीय र भौतिक क्षति भएको छ । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी शनिबार विहान ७ बजेसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ । केही ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना संकलन गर्न गाह्रो भएको सरकारी अधिकारीहरुले जनाएका छन् । सुक्खा पहिरो जाँदा ठाउँ-ठाउँमा सडकहरु अवरुद्ध भएका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको पनि निधन भएको छ । भूकम्पमा परी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । यसैगरी, रूकुम पश्चिममा ३६ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ । मर्नेमा बालबालिका धेरै छन् । सुतिसकेको अवस्थामा आएको भूकम्पका कारण धेरै बालबालिकाहरुको शव ओछ्यानमै फेला परेको छ ।
यसैबीच जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा गएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ पुगेका हुन् । साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएका छन् ।
सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गएराति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । विपतको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई पौडेलले अपिल गरेका छन् ।