जाजरकोट भूकम्पः यसकारण भत्किए धेरै घरहरु, प्रधानमन्त्रीको सक्रियता र सरकारी निर्णयहरु प्रशंसायोग्य

साझा कथा । २०७२ सालको गोरखा भूकम्पलाई सम्झाउने गरी शुक्रबार राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गयो । विज्ञहरुका अनुसार भूकम्पको मापन दुई तरिकाले गरिन्छ । एउटा हो म्याग्निच्युड र अर्को हो इन्टेन्सिटी अर्थात तिव्रता । भूकम्पको धक्कालाई म्याग्निच्युड भनेर बुझिन्छ भने त्यसको विस्तार हुँदा हुने गतिलाई तिव्रता भनेर बुझ्न सकिन्छ । पृथ्वीको सतहमुनी भौगर्भिक चट्टान वा चाक्लाहरु हुन्छन् । कमजोर भौगर्भिक चट्टान वा ढिस्को रहेको ठाउँमा तिव्रता बढी हुने हुन्छ । भूकम्पको वेभ कमजोर ठाउँमा धेरैबेरसम्म रहन्छ भने बलियो ठाउँबाट छिट्टै प्रसारण हुने हुन्छ । अर्थात कमजोर धरातल रहेको ठाउँमा कम्पन धेरैबेरसम्म रहन्छ जसले भू-सतहमा भएका संरचनाहरुलाई धेरैबेरसम्म हल्लाइराख्छ ।

गोरखा भूकम्पमा ७.८ म्याग्निच्युडको धक्का आएको थियो तर तिव्रता भने ६ मात्रै थियो । कम तिव्रताकै कारण काठमाडौं उपत्यकामा त्यतिखेर कम क्षति भएको विज्ञहरुको भनाई छ ।

अहिले जाजरकोटमा गएको भूकम्पको शक्ति ६.४ भएपनि तिव्रता भने ७ रहेको भूकम्पीय जोखिम न्यूनीकरणविद् डा. नारायण मरासिनीले जानकारी दिए । सोही कारण कम म्याग्निच्युडमा पनि धेरै घरहरु भत्किएका छन् । केहिसमय अघि बाजुरामा गएको भूकम्पको म्याग्निच्युड ५.९ थियो तर तिव्रता कम भएका कारण कम घर भत्किएका थिए । अहिले जाजरकोटमा रातको समय भूकम्प गएका कारण सुतिरहेका बालबालिकाहरुको धेरै हताहती भएको छ । शनिबार सााँझसम्म १५० बढीको मृत्यु भइसकेको छ भने १५० बढी घाइते छन् । भूकम्पका कारण भत्किएका घरसंरचनाहरुको लेखाजोखा हुन बाँकी नै छ । त्यसले पुर्याएको क्षति मूल्यांकन हुन पनि बाँकी नै छ ।

तर यो बीचमा भुकम्प प्रभावित क्षेत्रमा पुगेर पिडितलाई सान्त्वना र उद्दारका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देखाएको सक्रियताको सर्वत्र प्रशंसा भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड शनिबार विहानै नेपाली सेनाको हेलिकोप्टर लिएर जाजरकोट पुगेका थिए जतिखेर काठमाडौंमा भूकम्पको चर्चा गर्न भर्खर सुरु गरिएको थियो । प्रधानमन्त्रीले आफ्नो टोलीमा सचिवालयका सदस्य, फोटोग्राफर र परिवारका सदस्य कसैलाई पनि साथ लगेका थिएनन् । उनी नेपाली सेनाका केहि अधिकारी र स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित ठाउँमा पुगेका थिए । सुरुमा जाजरकोट पुगेर प्रभावित क्षेत्रको अवलोकन, घाइतेहरुसँग कुराकानी र उनीहरुलाई सान्त्वना दिने काम गरेका थिए । जाजरकोटपछि उनी रुकुमको अवस्था बुझ्न प्रभावित स्थानमा पुगेका थिए । योसँगै उनले आफू सवार हेलिकोप्टरलाई उद्दारमा खटाएर वायु सेवा निगमको नियमित उडानबाट काठमाडौं फर्कने निर्णय गरे जुन तारिफयोग्य भएको चर्चा भइरहेको छ । प्रचण्डले भूकम्पका कारण भएका घाइतेको उद्धार र उपचार युद्धस्तरमा हुने बताएका छन् ।

प्रधानमन्त्रीसँगै समग्र सरकारी संरचनाहरुको सक्रियता पनि तारिफयोग्य देखिएको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले खोज, उद्दार तथा राहतका लागि गरेका घोषणा र मानवीय सहायताका लागि स्वास्थ्य सामग्री पठाउने, चिकित्सकको टोली पठाउने, राहत सामग्री पठाउने निर्णयसँगै रकम भने घोषणा गरेका छन् जुन प्रशंसायोग्य छ । यसका साथै सरकारी संरचनाहरु नेपाल टेलिकम, विद्युत प्राधिकरण र आयल निगमबाट भएका निर्णयको पनि प्रशंसा भइरहेको छ । नेपाल टेलिकमले जाजरकोट र रुकुमपश्चिममा ५ दिनसम्म फोन गर्दा र म्यासेज गर्दा पैसा नलाग्ने निर्णय गरेर भूकम्प प्रभावितहरुका पक्षमा गतिलो निर्णय गरेको छ । साथै भूकम्पका कारण अवरुद्ध भएको विद्युत् सेवा प्रवाह सुचारु गर्न विद्युत् प्राधिकरणले देखाएको सक्रियता पनि प्रशंसायोग्य थियो । साथै राहत सामग्री ओसारपसार गर्ने र घाइतेहरुको उद्दारमा खटिने विमान सेवा प्रदायकहरुको इन्धन खर्च नेपाल आयल निगमले व्यहोर्ने निर्णय गरेर उद्दार कार्यलाई थप प्रभावकारी बनाइएको छ । नेपाल आयल निगमले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च व्यहोर्ने घोषणा गरेको छ ।

यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको छ । जसकारण भूकम्प प्रभावित क्षेत्रमा सरकारी कामकारबाहि चुस्त र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?