साझा कथा । नेपाली क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको एउटा निर्णयका कारण नेपाल टी २० विश्वकप छनोटको उपाधीबाट बञ्चित भएको छ । यसमा अन्तिम ओभरको एउटा बल नेपालको लागि दुर्भाग्य साबित भयो । टी–२० विश्वकप एशिया छनोटको फाइनल खेल अन्तर्गत नेपाल ओमानसँग पराजित भयो । प्रतिष्ठाको लडाईको रुपमा हेरिएको नेपाल र ओमानबीचको फाइनल बराबर भएपछि खेलले रोमाञ्चक मोड लिएको थियो ।
निर्धारित २० ओभरको खेलमा दुवै टोलीले १८४ रन जोडेपछि खेलको छिनोफानो सुपर ओभरमार्फत् भएको थियो । जसअन्तर्गत सुरुमा व्याटिङ गरेको ओमानले १ ओभरमा २१ रन जोडेको थियो । जवाफमा नेपालले जम्मा १० रन बनाउन सक्यो ।
नेपालले आज हार्नुमा प्रशिक्षक मोन्टी देशाईको गलत निर्णय कारक बनेको छ । टी २० विश्वकप छनोटमा अविनाशको बलिङ राम्रै रहेपनि आजको खेलमा उनको बलिङ फितलो देखिएको थियो । बोहरालाई बलिङमा पठाएर देशाईले गलत निर्णय लिए जुन महंगो साबित भयो । बोहराले गरेका ६ बल मध्ये ओमानका खेलाडी नाशिम खुशीले ३ वटा छक्का प्रहार गरे । ठूलो दवावमा खेल्नुपर्ने खेलमा अनुभवी खेलाडी नै चाहिन्थ्यो । बोहराको ठाउँमा करण केसी नै उपयुक्त खेलाडी हुन सक्थे ।
सुपर ओभरको जवाफी व्याटिङमा आएको नेपालको लागि कुशल भुर्तेल र गुल्सन झा व्याटिङमा उत्रिए । गुल्सन झा आज फर्ममा रहेपनि कुशल भुर्तेलको ठाउँमा करण केसी वा रोहित पौडेल नै पठाएको भए खेलले अर्कै मोड लिन सक्थ्यो ।
देशाईले अविनाश बोहरालाई अस्वभाविक स्पेस दिइरहेको भन्दै आलोचना हुने गरेको छ । नेपाली टिमको क्षमता विकास र नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका देशाईले गरेका दुई गल्तीले नेपाल उपाधी चुम्नबाट बञ्चित भयो ।
सुपर ओभर खेल्नुअघि सन्दीप लामिछानेको अन्तिम ओभर पनि रोचक बनेको थियो । अन्तिम ओभर बाँकी छँदा ओमानलाई ८ रनको आवश्यकता थियो । लगातार दुई विकेट लिएर सन्दीपले खेललाई नेपालको पक्षमा पार्ने प्रयास गरेका थिए । उनले गरेको पाँचौ बलमा रोहित पौडेलले बोर्डर लाइनमा क्याच गर्ने प्रयास गरेका थिए तर सफल भएनन् । बाउन्ड्री भित्र फालिएको बल समेत घुमेर बाउन्ड्री छोयो । सो बल चौका नभइदिएको भए खेल नेपालको पक्षमा थियो । यहिँनेर नेपालको भाग्यले साथ दिएन ।
अन्तिम बलमा ओमानलाई २ रनको आवश्यकता थियो । ओमानका खेलाडी मोहम्मद नदिम रन आउट भएपनि एक रन भने जोडिसकेका थिए । त्यसले खेल बराबर गरिदियो ।
तर पनि प्रतियोगिताको उपविजेता बनेको नेपाल टी–२० विश्वकपमा छनोट भइसकेको छ । यसको श्रेय भने उनै देशाईलाई जान्छ ।