जाजरकोटमा अर्को भूकम्प, रामीडाँडावासीलाई चोटमाथि त्रास

साझा कथा । जाजरकोट केन्द्रविन्दु भएर भूकम्पका थुप्रै पराकम्पहरु गइरहेका छन् । ५ रेक्टरस्केलभन्दा मुनिका दर्जनौं पराकम्पहरु गइरहेको अवस्थामा सोमबार अपरान्ह गएको ५ दशमलव ८ रेक्टरस्केलको भूकम्पले भने जाजरकोटवासी त्रास सिर्जना गरेको छ ।

शुक्रबार रातिको भूकम्पले दिएको चोटमाथि सोमबारको पराकम्पले फेरी ठूलै भूकम्प जाने होकि भन्ने त्रास जाजरकोटवासीमा छ । जाजरकोटको बारेकोट गाउँपालिका – १ रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४ः३१ मा शक्तिशाली पराकम्प गएको हो । पराकम्पका कारण केही घरहरुमा क्षेति पुगेको छ भने केही व्यक्ति घाइते भएका छन् ।

१ सय ५७ जनाको मृत्यु हुनेगरि आएको भूकम्प पछिको यो सबैभन्दा ठूलो पराकम्प हो । शुक्रबार गएको भूकम्पमा रामीडाँडामा मात्रै १२ जनाको मृत्यु भएको थियो । सोमबारको भूकम्पमा भने एक जना घाइते भएको र तीन घर भत्किएको जनाइएको छ । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर सोमबारको भूकम्पले भत्काएको स्थानीयको भनाइ छ ।

पराकम्पपछि मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् भने उद्धारका लागि अस्थायी प्रहरी पोस्टका प्रहरी गाउँ पुगेको छ । पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौँ उपत्यकासम्म महसुस गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?