साझा कथा । ताप्लेजुङका किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ ।
अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची सङ्कलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए । अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उनले बताए । मुख्य याम भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले बताए । तिहार अलैँची बगानमै मनाउने उनको योजना छ ।
जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । ताप्लेजुङमा प्रतिमन (४० किलो) खलैँची रु ५५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।