तिहार २०८०: २० प्रतिशत मात्रै फूल आयात, निर्यात हुन्छ मखमली

हरेक बर्षको तिहारमा करोडौँ मूल्य बराबरको फूल र माला आयात गर्ने नेपालले यसबर्ष कम आयात गरे पुग्ने भएको छ । यस वर्षको तिहारमा नेपालमा ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपालमा मागको ८० प्रतिशत फूल भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ ।

तिहारलाई फूलैफूलको चाडको रूपमा लिने भएकाले पनि यस पर्वमा फूलको महत्त्व रहेको छ । यस वर्ष अन्य वर्षको तुलनामा माला आयतमा कमी आएको छ । स्थानीय उत्पादनले धान्न थालेपछि आयतमा कमी आएको हो ।

एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार तिहार नजिकिएसँगै फूल टिप्न र फूलका माला उन्न किसानहरू लागिसकेका छन् । नेपाल विशेष गरी सयपत्री, मखमली, गोदावरी लगायतका फूलका मालामा लगभग आत्मनिर्भर भइसकेको उनको दाबी छ । उनले भने, “तिहार आउन अब दुई हप्ता मात्र बाँकी रहँदा किसानहरू फूल टिप्न र माला उन्न व्यस्त छन् । यस पटकको तिहारमा करिब ४० लाख मालाको खपत हुने अनुमान रहेको छ ।” तिहारमा ३५ लाख सयपत्री, चार लाख ५० हजार थान मखमली, २० हजार थान गोदावरी र ३० हजार थान मिक्स माला खपत हुने अनुमान छ ।

गत वर्षको भन्दा यस वर्ष मालाको खपत केही बढी हुने अनुमान रहेको छ । यस वर्ष तिहार पछाडि परेकाले फूलहरू चाँडै फुल्दा तिहारका लागि २० प्रतिशत फूलहरू बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको तामाङको भनाइ छ । उनले भने, “यस वर्षको तिहार पछाडि परेकाले फूलहरू चाँडै नै फुलेकाले तिहारसम्म रहेनन् । त्यसैले २० प्रतिशत हाराहारीमा फूलहरू बाहिरबाट ल्याउनुपर्ने अवस्था छ ।”

यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ र खुद्रा मूल्य १२५ देखि १५० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ । यस्तै, मखमलीको मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको छ । मिक्स माला होलसेलमा ३ सय र खुद्रामा ५ सय रुपैयाँसम्म पर्न जाने अध्यक्ष तामाङको भनाइ छ । यस्तै, गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर ३ हजार रुपैयाँसम्म पर्ने एसोसिएसनको अनुमान छ । अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि सरकारले प्लास्टिकका माला बेच्न प्रतिबन्ध लगाएको छ । जसका कारण नेपालमा उत्पादित भएको फूलको खपत पूर्ण रूपमा हुने विश्वास व्यवसायीले गरेका छन् ।

अपुग २० प्रतिशत फूलहरू भारतबाट आयात गर्नुपर्ने हुन्छ । अहिले पुष्प विकास केन्द्रले बाहिरबाट फूलको आयात प्रतिबन्ध लगाएको छ । तर, व्यवसायीहरूले पहिले नै आयातको स्वीकृति लिएर बसेका कारण फूलको अभाव नहुने बताइएको छ ।

तिहारको समयमा नेपालबाट मखमली बाहिरी देशमा निर्यात समेत हुने गरेको अध्यक्ष तामाङको भनाइ छ । उनका अनुसार तिहारमा डेढ लाख थान मखमली माला बाहिरी देशमा निर्यात हुने गरेको छ । विदेशमा रहेका नेपालीहरूले तिहारमा मखमलीका मालाहरू लगाउन खोज्ने भएकाले सो मात्रामा विदेशमा निर्यात हुने गरेको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?