विश्वकपमा दुर्लभ दृश्य – म्याक्सवेलको चमत्कार, घाइते अवस्थामै दोहोरो शतक

अष्ट्रेलियाका क्रिकेट खेलाडी ग्लेन म्याक्सवेलले जारी विश्वकपमा चमत्कारिक प्रदर्शन गरेका छन् । ओडीआईमा यो अहिलेसम्मकै सबैभन्दा महान् प्रदर्शन हो, यसमा कुनै शङ्कै छैन,” इङ्ल्याण्ड क्रिकेट टोलीका पूर्व कप्तान माइकल भन भन्छन् । भनले यस्तो प्रतिक्रिया दिनुभन्दा केहि मिनेट अघि ग्लेन म्याक्सवेलले दशौँ छक्का प्रहार गरेर दोहोरो शतक (डबल सेन्चुरी) पूरा गरेका थिए । अफगानिस्तानविरुद्धको यस्तो विस्मयकारी प्रदर्शन गरेर जित हासिल गरेपछि अस्ट्रेलिया विश्वकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

माइकल भन भन्छन्, “मानिसहरूले यो खेलको यो इनिङ्सलाई नै हालसम्मकै सबैभन्दा उत्कृष्ट भन्नेछन्, मैले यस्तो खेल यसअघि कहिल्यै देखेको थिइनँ । अस्ट्रेलियाले यो खेल जित्ने कुनै सम्भावना नै देखिएको थिएन ।”

भूतपूर्व भारतीय क्रिकेटर मोहम्मद कैफले पनि अस्ट्रेलिया र अफगानिस्तानबीचको उक्त रोमाञ्चक खेल सकिनेबित्तिकै सामाजिक सञ्जाल ट्वीटरमा ग्लेन म्याक्सवेलको तारिफ गर्दै भने, म ४० वर्षको भएँ तर कसैले छैठौँ नम्बरमा आएर २०० रनको अविजित स्कोर बनाएको कहिल्यै देखेको थिइनँ । वानखेडे रङ्गशाला र यहाँ उपस्थित दर्शकले यो खेललाई कहिल्यै बिर्सने छैनन् ।

मङ्गलवार भारतको वानखेडे रङ्गशालामा भएको खेलमा जितको लागि २९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४ विकेटको क्षतिमा जम्मा ४९ रन बनाउन सकेको अवस्थामा म्याक्सवेल मैदान प्रवेश गरेका थिए । र अफगानिस्तानका अजमतुल्लाह ओमरजाइको ह्याट्रिक बलको सामना गरेर उनी बल्लतल्ल जोगिन सकेका थिए ।

खेल अघि बढ्दै जाँदा अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको अवस्थामा खुम्चियो । २४ र ३३ रनको अवस्थामा म्याक्सवेल दुई पटक ड्रप भएर जोगिए । २७ रनमा उनी मैदान छाडेर बाहिरिनै लागेका थिए तर उनीविरुद्धको एलबीडब्ल्यू अपील रिभ्यू गर्दा त्यो मान्य नठहरिएपछि उनी फेरि जोगिएका थिए ।

मुजिबुर रहमानले दोस्रो क्याच छाडेको समयपछि न त अफगानिस्तानका बलरहरूले न त ढाड र जिउ दुखेको समस्याले नै म्याक्सवेललाई रोक्न सके ।

जितको लागि १०० रन आवश्यक परेको बेला नै उनी दौडनका लागि सङ्घर्ष गर्नुपर्ने भइसकेका थिए । त्यो लक्ष्य ७५ मा झर्दा उनी शट खेल्नलाई मुस्किलले खुट्टा चलाउन सक्ने अवस्थामा थिए ।

तर त्यसले उनको खेललाई फरक पारेको देखिएन । उनले १२८ बलमा २०१ नटआउटको स्कोर बनाउँदा जसरी हात र आँखाको संयोजन मिलाएर सटिक बल स्ट्राइक गरे त्यो गत महिना उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा ४० बलमा सबैभन्दा छिटो सेन्चुरी बनाएको खेल कौशलभन्दा निकै उत्तम देखिएको थियो ।

पाकिस्तानको खेल च्यानल ए स्पोर्ट्सको एक कार्यक्रममा खेलको समीक्षा गरेका पूर्वक्रिकेटर वासिम अकरमले खुट्टा बाउँडिएर गाह्रो हुँदा समेत त्यस्तो सानदार प्रदर्शन गर्नु चमत्कार नै हो भनेर तारिफ गरेका थिए ।
आफूलाई दिएको जितको लक्ष्य पछ्याउने क्रममा आफ्नो इनिङ्समा दोहोरो शतक प्रहार गर्ने प्रदर्शन यसअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कसैले देखाएका थिएनन्। र त्यो नन ओपनिङ ब्याटरले राखेको कीर्तिमानमा पनि पहिलो नै हो ।

टिएमएस कार्यक्रमका कमेन्टेटर जेफ लेमनले पनि भने,” ग्लेन म्याक्सवेलले आज जे गरे, त्यो चमत्कार नै हो ।”

उनले भने, यो वान म्यान शो रह्यो । एक्लो खेलाडीले मात्र खेल जित्न सक्दैन भन्ने गरिन्छ। आज हामीले देख्यौँ कसरी एकै खेलाडीले जित हासिल गराउन सक्छ, त्यसको लागि उसमा जुझारुपन हुनुपर्छ ।

म्याक्सवेलसँग जोडी बनाएर २०२ रनको अविजित स्कोरमा आफ्नै १२ रनको योगदान दिएका अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले त्यो खेललाई “अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट ओडीआई इनिङ्स” भनेर प्रशंसा गरे ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?