साझा कथा । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा यसको बहस चर्किएको छ । कतिपयले सरकारको कदमको प्रतिरक्षा गरेका छन्, कतिपयले खुशी व्यक्त गरेका छन् भने कतिपयले विरोध गरिरहेका छन् । केहि संचारमाध्यमहरुले खुलेरै सरकारी निर्णयको विरोध गरिरहेका छन् । विरोध गर्नेहरुले व्यक्तिगत स्वतन्त्रताको हनन् भएको रुपमा व्याख्या गरेका छन्।
सरकारले टिकटकको माध्यमबाट सामाजिक विकृति बढेको निश्कर्ष निकाल्दै प्रतिबन्ध लगाएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यले टिकटकबाट सामाजिक विकृतिहरु फैलिरहेकाले सरकारले यसलाई बन्द गर्नुपरेको बताए । उनले भने, “व्यक्तिगत स्वतन्त्रताका लागि अरु पनि सामाजिक सञ्जाल फेसबुल, ट्वीटर, इन्टाग्रामलगायतका छन्। तर, टिकटकबाट समाजमा नकारात्मक कुराहरु मात्र फैलिरहेकाले सरकारले यसलाई बन्द गर्ने निर्णय गरेर राम्रो काम गरेको छ।”
टिकटकका माध्यमबाट संवेदनशील अंगहरु प्रदर्शन गर्ने, अरुलाई गाली गलौच गर्ने, अपराध गर्ने, नकारात्मक भावना जगाउने, अरुको मानमर्दन गर्ने जस्ता विकृतिजन्य कामहरु बढ्न थालेपछि सरकारले बन्द गर्नुपरेको आचार्यको तर्क छ ।
विश्वका धेरै मुलुकमा टिकटक प्रतिबन्ध छ । चिनीयाँ कम्पनी टिकटक भारत, स्वीडेन, अमेरिका, वेलायत लगायतमा प्रतिबन्धित छ । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घमा टिकटक निगरानीमा परेको छ । यूकेमा सुरक्षाको कारण देखाउँदै संसद्ले टिकटकलाई प्रतिबन्ध लगाएको छ । केही समयअघि अमेरिकी सांसदहरूले ट्विटरका प्रमुख कार्यकारीलाई सुनुवाइमा बोलाएर सोधपुछ गरेका थिए ।
अफगानिस्तान, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, ईयू, फ्रान्स, भारत, लाट्भिया, द नेदरल्यान्ड्स, न्यूजील्यान्ड, नर्वे, पाकिस्तान, ताइवान, यूके र अमेरिकामा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
विश्वका धेरै प्रजातान्त्रिक मुलुकमा पनि टिकटक बन्द भएको हुँदा यो सञ्जाल बन्द हुँदैमा स्वतन्त्रता नै खोसियो भनेर सोच्न नहुने सरकारको तर्क छ ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डा. कुन्दन अर्याल भने टिकटकको प्रतिबन्ध हतारको निर्णय मान्छन् । उनी भन्छन्, “सरकारले टिकटक प्रतिबन्ध गर्ने निर्णय हतार भयो । अध्ययन गर्नु राम्रो हुन्छ।” विज्ञान तथा प्रविधिका जहिले पनि फाइदा र बेफाइदा नै हुने भएकाले बेफाइदाको पहिचान गरेर नियमन गर्नुको साटो प्रतिबन्ध नै लगाउनु जायज नभएको उनको भनाइ छ।
स्पष्ट तथ्याङ्क नभए पनि इन्टरनेट प्रयोग गर्ने धेरै नेपालीहरू मनोरञ्जनका साधनका रूपमा टिकटक हेर्ने गर्छन् । तर पछिल्लो समय यो सञ्जालमा मनोरञ्जनभन्दा समस्या धेरै छ । टिकटकलाई आफ्नो कला प्रष्फुटन गर्ने माध्यम बनाएकाहरुले ध्यान नदिएको पक्ष के हो भने, टिकटकका सम्बन्धमा प्रहरीमा १० हजार बढी गुनासाहरू आएका थिए । तर ती गुनासो सम्बोधनका लागि प्रहरीसँग उपाय थिएन, किनकी टिकटक नेपालको पहुँचमा थिएन । कुनै पनि मुद्दा वा गुनासा सम्बोधन गर्न सरकार सफल भएको थिएन । त्यसमाथि समाजमा र परिवारमा बसेर हेर्न नसकिने किसिमका सामग्रीहरू राख्न थालिएको टिकटक कमाउने भाँडो पनि बनेको थियो । पैसा उठाउनका लागि हदैसम्म गिर्न पनि प्रयोगकर्ताहरु राजी हुन थालेका थिए ।
यस्तो अवस्था आएपछि गृह मन्त्रालयले टिकटककै प्रतिनिधिलाई बोलाएर त्यसबारे ध्यानाकर्षण गराएको थियो । तर टिकटक प्रतिनिधीहरुले कुनै पनि प्रयोगकर्ताको आइडी बन्द गर्ने बाहेक अरुलाई परेको पीडा र समस्याको समाधान गर्न उपायविहिन भएको बताएपछि सरकार यो निर्णय लिन बाध्य भएको सरकारी अधिकारीहरुको भनाई छ ।
यो सत्य हो, पछिल्लो समय टिकटकले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलिरहेको थियो । कुनै पनि माध्यमको सकारात्मक र नकारात्मक पक्ष हुने गर्दछ । नकारात्मक पक्ष हावी भयो भने उपचार त गर्नैपर्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिना लेख्छन्, ‘सूचना, संवाद, बहस, विचारको आदनप्रदान, मित्रता, स्वस्थकर मनोरञ्जन, वाक् तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जालका दर्जनौं प्लेटफर्म छन्। कुनै पनि प्रकारको सिर्जनशील काम नहुने, पारिवारिक वातावरण बिगार्ने, बच्चाहरूलाई मनोरोगी बनाउने, करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म, गीत बिगारेर भाइरल हुने र प्रोफेसनल कलाकारहरू बेरोजगार बनाउने, समूहमा बसेर हेर्नै नसकिने विकृत मञ्च अर्थात् एकप्रकारको यौनशाला भएको थियो टिकटक नेपालमा । नियमनका अनेकन प्रयास नभएका होइनन् । तर, पाइञ्जेल दुरूपयोग गर्नेबाहेक अहिले विरोध गर्नेहरूले पनि केही गरेनन् । त्यसैले बन्द गर्न अत्यावश्यक थियो । टिकटक बन्द गर्नुका सयौं लाभहरू क्रमशः अनुभूत हुँदै जानेछ ।’