साझा कथा । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘सूर्यज्योति सही प्लान’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा कम प्रिमियम भएको नयाँ बीमा पोलिसी सार्वजनिक गरेको हो । उक्त पोलिसीमा ७० वर्ष पुगेपछि बीमितले पुरै बीमाशुल्क फिर्ता हुने कम्पनीले जानकारी गराएको छ । प्रिमियममा ठूलो रकमको आजीवन बीमा गर्न सकिने र तिरेको सम्पूर्ण रकम फिर्ता हुने नेपालकै पहिलो योजना सार्वजनिक गरिएको कम्पनीले दाबी गरेको छ ।
कम्पनीले शुक्रवार काठमाडौंमा आयोजना गरिएको एक भब्य समारोहकाबीच प्रमुख अतिथिहरू बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सूर्यज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराईले उद्घाटन गरेका हुन्।
उक्त योजनामा थोरै प्रिमियममा ठुलो बीमा लिन सकिने, ७० वर्ष पुगे पश्चात तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रिमियमको ६ गुणासम्मको रकम फिर्ता हुने विशेषताहरूका साथै ऐच्छिक सुविधा अन्तर्गत सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध रु ५० लाखसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आम जनजीवनमा आईपर्नसक्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना उत्तम भएको दाबी गरे । सही सोचौँ, सही रोजौँ भन्ने मूल नाराका साथ ल्याइएको यो सही प्लानमा ७० वर्षको उमेर पश्चात् तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुँदा आफूलाई बुढेसकालको सहारा हुने, कम रकममा ठूलो बीमा गर्न मिल्ने र जोखिमको भार बहन पनि ठूलै हुने हुनाले आफ्नो परिवारमा आर्थिक समस्या आइपरे भविष्यमा आर्थिक भारको रक्षावरणमा सहज हुने हुनाले यदि पहिले बीमा लिइसकेको भए पनि यो सही प्लान दोश्रो बीमाको रुपमा खरिद गर्नु निकै नै बुद्धिमानी हुने खत्रीले जानकारी गराए ।
सूर्यज्योति लाइफले समय सापेक्ष आफ्ना ग्राहकहरूको हित र सुविधालाई ध्यानमा राखेर नवीनतम् र परिस्कृत सेवा पस्किदै आइरहेको छ । कम्पनीले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिँदै छोटो समयमै उलेखनीय उपलब्धिहरू हासिल गरिसकेको छ ।
हाल कम्पनीको चालू पुँजी रु. ४५४ करोड, लगानी रु. ३४०० करोड, जीवन बीमा कोष रु. २९५० करोड, नेटवर्थ ६२२ करोड र जारी बीमालेख संख्या २२ लाख साथै देशैभरि फैलिएका १७६ शाखा सञ्जाल र सक्रिय रुपमा आबद्ध करिब ९४ हजार अभिकर्तामार्फत कम्पनीले सेवा प्रवाह गर्दै आइरहेको छ ।