साझा कथा । विश्वकप क्रिकेटको महाभिडन्त आइतबार हुँदैछ । १० टिम सहभागी भएको यो पटकको विश्वकप क्रिकेटको फाइनल खेल भारतको अहमदावादमा हुँदैछ । यो पल्ट फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् । भारत १० बर्षपछि विश्वकपको फाइनलमा पुगेको हो । फाइनल खेल्ने भारत र अष्ट्रेलियाले अहिलेसम्म १५० एकदिवसीय खेल खेलिसकेका छन् । जसमध्ये ८३ खेलमा अस्ट्रेलियाले जित हासिल गरेको छ भने भातरले ५७ खेल जितेको छ ।
विश्वकपमै भने दुवै टोलीले एकअर्कासँग १३ खेल खेलेका छन् जसमा अस्ट्रेलियाले ८ खेल जितेको छ भने बाँकी ५ खेल भारतले जितेको थियो । क्रिकेटमा साम्राज्य स्थापना गरिरहेका यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । भारतमा खेलिएका ७१ एकदिवसीय खेलमा दुवै टोलीले समान ३३–३३ खेल जितेका छन् । साथै यस वर्ष दुई टोलीबीच खेलिएका ७ मध्ये भारतले चार खेलमा जित हात पारेको छ।
फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै मोटो रकम नगद पुरस्कार पाउने छ । यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार प्रदान गरिने छ ।उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ । सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८–८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन् ।
समूह चरणबाटै घर फर्केका ६ टिमले भने १–१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन् ।