विपिन जोशी सकुशल, कहिले आउलान् नेपाल ?

साझा कथा । इजरायल हमास युद्धका कारण १० नेपालीको ज्यान गयो, केहि घाइते भएका छन् भने एक जना वेपत्ता रहेका थिए । वेपत्ता भएका विपिन जोशी सकुशल रहेको पुष्टि भएको छ । हमास समुहले इजरायल माथि गरेको आक्रमणपछि बेपत्ता रहेका कञ्चनपुर भीमदत्त नगरपालिका– ३ का जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै इजरायलको किबुज अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको बताएको हो । दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएकोसमेत बताएको छ । उनी अहिलेसम्म सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको पनि दूतावासले जनाएको छ  ।

हमास समूहले गरेको ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो ।

आक्रमणमा परेर घाइते भएका सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको बयान दिँदै आएका थिए । उनीहरूका अनुसार हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो । त्यसपछि उनीहरूले जोशीलाई लिएर गएका थिए ।

त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपालिका– ३ का वीरेन्द्र चौधरीसहित दुई सय ५३ जनाको विद्यार्थी टोलीलाई सरकारले यसअघि नै उद्धार गरिसकेको छ । परराष्ट्रमन्त्री साउदको पहलमा उनलाई खोज्ने कार्य जारी रहेको छ । उनलाई नेपाल ल्याउनका लागि पहल भइरहेपनि कहिले आउँछन् भन्ने एकीन गर्न सकिएको छैन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?