साझा कथा । तपाईको घरमा पनि बालबालिकाहरु ढिलो बोलेका वा बोली नफुटेको” समस्या छ होला । खाना खाँदा अनिवार्य मोबाइल चाहिने अवस्था छ होला । मोबाइल दिएपछि बच्चाहरु शान्त भएको र मोबाइल खोस्दा उनीहरुको चिच्याहट छ होला । बालबालिकाहरुले अरुसँग कुरा नगर्ने, सामाजिक मर्यादा सिकाउन अप्ठ्यारो परिरहेको छ होला । यी सबैको कारण हो, मोबाइलको अधिक प्रयोग अर्थात् मोबाइलको लत । मोबाइल धेरै चलाउनु मात्र होइन, मोबाइल चलाउन नपाउँदा बालबालिकाले दुस्ख मान्ने, निराश हुने, डराउने, मोबाइलबाहेक अन्य कुरामा ध्यानै नदिने, सामाजिक नहुने खालको अवस्था बन्यो भने त्यसलाई मोबाइलको लत लागेको भन्नुपर्ने हुन्छ।
अहिले सबैको टाउको दुखाईको विषय बनेको छ, बालबालिकालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने । जानकारहरूका भनाइमा बालबालिका तथा किशोरकिशोरीमा मोबाइलको लत अहिले विश्वव्यापी समस्याका रूपमा देखिएको छ । मोबाइलको लत लागेपछि बालबालिकामा अनेकौँ मानसिक र शारीरिक समस्याहरू देखिन थालेको पनि हुन सक्छ । मोबाइलले नर्सरी राइम्स वा एबीसीडी त सिकाउला तर यसका धेरै नकारात्मक परिणामहरु परिवारहरुले भोगिरहेका छन् । यद्यपि त्यो बालबालिसँग मात्र जोडिएको नभई अभिभावकको आनीबानीसँग पनि सम्बन्धित रहेको छ । किशोरकिशोरीहरूमा मोबाइलको अति लतका कारण डिप्रेसनको समस्या देखिने पनि गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सूचना जारी गर्दै बालबालिकालाई मोबाइलको अभिभावकलाई लत नलगाउन सुझाव दिँदै आएको छ । हालै मन्त्रालयले जारी गरेको सूचनामा पनि मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा असर पर्ने जनाइएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा बालबालिकामा मोबाइलको लतबारे निम्न कुरा उल्लेख गरिएको छः
- बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन् । अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्छ ।
- मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युझँने समस्या देखिन सक्छ ।
- आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा खुवाउनु हुँदैन ।
- मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्। त्यसका कारण पोषणसम्बन्धी समस्या, पाचन प्रणालीमा समस्या हुन सक्छ ।
- खाना खुवाउँदा अभिभावकले बच्चासँग कुराकानी गरेर, डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ ।
- मोबाइलको लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जान सक्छ । उनीहरू रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छन् । यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छ ।
- सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रीनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ ।
- मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा यसले बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्याउँछ ।
बालबालिकामा हुने मोबाइलको लत कम गर्न सबैभन्दा प्रमुख भूमिका अभिभावकको हुने विज्ञहरू बताउँछन् । जानकारहरु भन्छन्, ‘सबैभन्दा पहिले अभिभावक आफैँले दिनको अधिकतम दुई घण्टाभन्दा बढी मोबाइल चलाउनु भएन र बालबालिकालाई पनि दिनु हुँदैन ।’
अभिभावकपछि शिक्षकशिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने उनीहरुको भनाइ छ । त्यसका अतिरिक्त मोबाइल चलाउने समयमा त्यसलाई बन्द गरेर अन्य विकल्पहरूमा बालबालिकालाई सहभागी गराउनुपर्ने विज्ञहरुको सुझाव छ ।