लयमा मुस्ताङः उजाड पहाड हेर्न पर्यटकको घुइँचो (भिडियो कथा)

Featured Video Play Icon

साझा कथा । गत बर्खा याममा बाढीले ठुलो क्षति पुर्याएको मुस्ताङ क्षेत्रले छोटो समयमै लय समातेको छ । पछिल्लो एक महिनामा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेसँगै मुस्ताङ क्षेत्रमा लागेको कालो दाग पखालिएको हो ।

दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मात्रै मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार कात्तिकमा ७३ हजार ८७९ स्वदेशी र पाँच हजार ५०४ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।

 

मुस्ताङको मुख्य विशेषता नै उजाड पहाड हो । नेपालमा कहिँ नभएको भौगोलिक विशेषता बोकेका पहाडहरुकै कारण मुस्ताङ आन्तरिक र वाह्य दुबै पर्यटकमाझ लोकप्रिय छ । त्यहाँको संस्कृति र जीवनशैली हेर्न पनि पर्यटकहरु पुग्ने गर्छन् । हिमाली हावापानी, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा आदि मुस्ताङका आकर्षण हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले दसैँ, तिहार, छठपर्वको बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकहरु लर्काे लागेर आएको बताउँछन् । कात्तिक महिनामा मात्रै मुस्ताङमा १३ हजार ९०१ सवारीसाधन पर्यटक बोकेर भित्रिएका थिए । ६ हजार ४०८ मोटरसाइकल, ६ हजार २८९ कार/जिप तथा ७५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए । सो समयमा मुस्ताङमा दैनिक चारदेखि पाँच हजार ५ सयको हाराहारीमा पर्यटक मुस्ताङ भित्रिएको थियो ।

मुक्तिनाथको रानीपौवाका होटल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको बताए । ‘विगतका वर्षमा दसैँतिहार याममा वर्षातका कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि धेरै दुःख पाए ।’ उनले भने, ‘यसपाली राम्रो सडक र सफा मौसम भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजे ।’ मुस्ताङ घुमघामका लागि शरदयाम उपयुक्त मानिन्छ ।

मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?