कहाँ पुग्यो विपिन रिहाइको पहल ?

साझा कथा । विपिन जोशी सकुशल रहेको भन्ने खबर प्राप्त भएपनि अझै उनको पहिचान हुन सकेको छैन । हमासको नियन्त्रणमा रहेका विपिन कहाँ छन् पत्तोसमेत लाग्न सकेको छैन । तर, उनको खोजीमा नेपाल सरकार भने निरन्तर लागि परेको छ ।

इजरायलमा रहेका विद्यार्थीहरुको सकुशल उद्धार गरेर वाहवाही पाएका परराष्ट्रमन्त्री एनपी साउद अझ बढी विपिनको खोजीमा सकृय छन् । उनले आजै मात्र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा परराष्ट्रमन्त्री साउदले विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरे ।

विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिए ।

कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने आश्वासन दिएका स्वकीय सचिव जोशीले बताए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा समेत गरे ।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । भेटका क्रममा उनीहरूबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?