जाजरकोट भूकम्पः अस्थायी संरचना निर्माणमा राजनीतिक दल

साझा कथा । जाजरकोट भूकम्पका पीडितका लागि अस्थायी आवास निर्माणमा राजनीतिक दल सक्रिय भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकामा अस्थायी आवास निर्माणमा जुटेका हुन् ।

तिहार सकिएसँगै राजनीतिक दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउन सुरु गरिसकेका छन् । भूकम्प प्रभावित क्षेत्रमा सफाइ अभियान, अस्थायी टहरा निर्माणलगायत समग्र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई त्यहाँ खटाउन थालेका हुन् ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवास निर्माण गरेको छ । टोलीले नलगाड नगरपालिका–५ स्थित रघुनाथ टोलमा मङ्गलबारदेखि अस्थायी टहरा निर्माण सुरु गरेको थियो । टोलीले शुक्रबारसम्म श्रमदान गरेर एक सयवटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशील भट्टले जानकारी दिए ।

टोलीमा पौडेलसहित गण्डकी प्रदेशसभा सदस्य दिल्लीराम सुवेदी, इन्जिनियर दीपकबाबु कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता–कार्यकर्ता रहेका थिए ।

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो । कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्ण गरेको थियो ।

नेता पौडेलका अनुसार टोलीले एक सयवटा अस्थायी घर निर्माणमा श्रमदान गरे पनि आवासका लागि आवश्यक जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाइएको छ । आवास निर्माणको सरकारी मापदण्ड बने पनि सोअनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।

नेकपा (एमाले)ले जाजरकोट र रुकुम पश्चिममा करिब एक हजार एक सय जनालाई खटाउने रणनीति बनाएर परिचालित भएको बताएको छ । शुक्रबार एमालेको भातृ सङ्गठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब एक सय जनाको सीपयुक्त जनशक्ति प्रभावित क्षेत्रमा खटिएको छ । उक्त टोलीले शुक्रबार भूकम्पले क्षतिग्रस्त भेरी नगरपालिका–३ थाप्लेका भग्नावशेष घरमा सफाइ अभियान चलाएको छ । एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजङ्ग शाहका अनुसार थप एक हजार जनालाई प्रभावित क्षेत्रमा खटाइने तयारी छ ।

नेकपा (माओवादी केन्द्र)ले तीन हजार स्वयंसेवक परिचालन गरेर अस्थायी संरचना निर्माणमा जुटेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कालीबहादुर मल्लले बताए । जाजरकोटबाट मात्र पाँच सय स्वयंसेवक खटिएको उनले जानकारी दिए । सबैभन्दा बढी प्रभावित ठाउँमा खटिएर काम गरिएको माओवादी केन्द्रका नेता राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिए । शर्माले आफू कुशे गाउँपालिकाको विभिन्न ठाउँमा खटिएकोसमेत बताए ।

 

यता, नेकपा (एकीकृत समाजवादी)ले मङ्सिर ८ गतेसम्म पार्टीका तर्फबाट टिम प्रभावित क्षेत्रमा खटाएको छ । समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका अनुसार एक सय ५० जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । “ती भनेका संरचना निर्माणमा दक्ष भएका व्यक्ति हुन्”, थापाले भने, “युवासङ्घको नेतृत्वमा नै त्यहाँ टोली परिचालन गरिने छ । साथै पार्टी अध्यक्ष पनि केही दिनमा प्रभावित क्षेत्रमा पुग्नेछन् । त्यहा खटिएका टोलीले आफ्नै खर्चमा काम गरिरहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?