संरक्षण अभावमा जीर्ण बन्दै पर्यटकीय संभावना रहेको गर्भा दरबार

साझा कथा । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा स्थित गर्भा दरबार नेपालको राणाकालीन दरबार हो । यो तल्लो बोगटान अन्तर्गत पञ्चायतकालको निगाली गाउँ पञ्चायत वार्ड नम्बर ८ त्यस पछि कैलाली जिल्लाको साविक खैराला गाउँ विकास समिति वार्ड नम्बर ३ र अहिले चुरे गाउँपालिका वार्ड नं ४ मा रहेको छ ।

जिल्लाको सदरमुकाम धनगढी देखि ४५ किलोमिटरको दुरीमा रहेको यो दरबार हाल संरक्षण अभावका कारण जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेका छन् । स्थानीय कृष्णबहादुर मल्लले भने दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन, दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

तत्कालीन समयमा तराईमा औंलो सरोटो लाग्ने गर्दथ्यो । औलों सरोटोबाट बाँच्न र सफा हावापानी भएको सुरक्षाको दृष्ट्रिकोणले उपयुक्त स्थान पहिचान गरी आफूबस्नको लागि राणा शासकले यो दरवार निर्माण गराएका थिए ।

दरबार जीर्ण हुँदै जाँदा भवनमा पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको उनको भनाइ छ । राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा विसं २०३३ पछि भने कोही पनि बसेका छैनन् । हावापानी, मौसम र भौगोलिकरूपमा उपयुक्त भएकाले राणाहरुले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीयको छ । मास पिसेर त्यसबाट चुना लगाई निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको सो दरबार तीन खण्ड र तीन तल्ला छ । सुरक्षाका लागि दरबारको भूइँतल्लामा सुरुङसमेत बनाइएकामा अहिले पुरिँदै गएको छ । उतिबेला राणा शासक खैरालाको दरबारबाट बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फूमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।

ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न सकेको छैन । चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । दरबार संरक्षणका लागि पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिँदै आएको उनको भनाइ छ ।

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ६० लाख आ.व २०७६/७७ मा ५० लाख बजेट विनियोजन गरे पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वन हुन नसकेको बताए । उनले सो दरबार पुरातत्व विभाग अन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणका लागि विभागको टोली ल्याएर संरक्षणका लागि स्थलगत अवलोकन गराएको समेत बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?