साझा कथा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०र८१ को साउन, भदौ र असोज महिनामा रु एक अर्ब २० करोड ८० लाख मूल्य बराबरको एक हजार पाँच सय १० मेट्रिक टन अलैँची भारत निर्यात भएको थियो ।
पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैँचीको खेती हुँदै आएको छ । औषधि र मसालाका रुपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च रहेको छ । आव २०८०र८१ को त्रैमासिक अवधिमा २२ करोड ९५ लाख चार हजार मूल्य बराबरको एक हजार सात सय ९३ मेट्रिक टन अदुवा पूर्वीनाका काँकडभिट्टा भएर निकासी भएको छ । निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् ।
नेपालबाट भारततर्फ निकासी हुने कृषि वस्तुमा मसुरो दालसमेत रहेको छ । सोही अवधिमा ८ करोड चार लाख १९ हजार मूल्य बराबरको ५ सय ८७ मेट्रिक टन मसुरो दाल निकासी भएको कार्यालयले जनाएको छ ।