साझा कथा । चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र एलिजेह जमाली (एलिजेह) को जोडीले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा राहत बितरण गरेका छन् ।
दुबईबाट गत बिहीबार नेपाल आइपुगेका उनीहरू राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोटको कुसे गाउपालिका डाँडाभौता भेगका १ सय ६५ घरधुरीलाई खाद्यान्न (१÷१ बोरा चामलसहित दाल, नुन, तेललगायत) का सामग्री सँगै सो क्षेत्रका ३ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडा र कापी, कलम किताब राख्ने झोला समेत वितरण गरेका छन् ।
राहत प्याकेजमा उनीहरूले झण्डै २० लाख बराबरको रकम खर्च गरेका छन् । कोही नपुगेको ठाउँमा जान चाहेको भन्दै उनीहरूले सबैभन्दा विकट ठाउँ रोजेका थिए । त्यहाँ राहत सामग्री लैजान उनीहरूले नेपालगन्जबाट सामान लोड गरि भाडामा ट्रक लगेका थिए । राहत वितरण गरिने क्षेत्रसम्म ट्रक जान नसक्ने भएकाले ४ घण्टाको बाटोमा ट्रयाक्टरमा पुन सामान ओसारिएको थियो ।
टिकटकबाटै जोडिएका एलिजे र आयुष केही समयदेखि प्रेम सम्बन्धमा थिए । गत असोज १९ गते उनीहरूले दुबईमा इंगेजमेन्ट गरेका थिए ।