बालेनको लयमा धनराजः फिर्केखोला मिचेर बनेका १६० संरचना भत्काउने सुर

साझा कथा । काठमाडौं महानगरपालिकाभित्र पर्ने टुकुचा खोला उत्खनन गर्ने अभियान चालेर महानगरका प्रमुख बालेन साह एक समय खुबै चर्चामा आए ।

त्यसपछि अतिक्रमित संरचना हटाउने अभियान देशैभरका स्थानीय सरकारहरुले गर्न थाले । महानगर, नगर र गाउँपालिकासम्म चलेको यो लहर हिजोआज पोखरा महानगरपालिकातिर चल्दैछ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्केखोला मिचेर बनेका १६० संरचनाहरु भत्काउने सुर कसेसँगै उनको चर्चा देशैभर हुँदैछ । अँधेरीकुनादेखि सुरु भएको फिर्केखोला फेवातालमा गएर मिसिन्छ ।

मानवीय अतिक्रमणको तीव्र चपेटामा परेको पोखराको फिर्केखोलामा ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना निर्माण गरेका छन् । त्यसको वास्तविकता पत्ता लगाउन खटिएका महानगरका प्राविधिकले २ महिना लगाएर असोज ६ गते महानगरलाई प्रतिवेदन बुझाए । प्राविधिक वासुदेव पौडेलको नेतृत्वमा खटिएको टोलीले गरेको अध्ययनअनुसार १६० संरचना खोलाघरमै बनेको खुलेको थियो ।

प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि महानगरले कात्तिक १० गते एक सूचना निकालेर ३५ दिनभित्र खोलाघर मिचेर बनेका संरचना हटाउन निर्देशन दिएको थियो । सूचनामा तोकिएको समयभित्र संरचना नहटाए महानगरले आफैं हटाइदिने र त्यसवापतको खर्च संरचना धनीले नै व्यहोर्नुपर्ने बताइएको थियो ।

उक्त समयावधि मंसिर १४ गते नै सकिइसकेको छ । तर, कात्तिक २४ गते नै उच्च अदालत पोखराले फिर्के खोलाघर मिचेर बनेका संरचना तत्काल नहटाउन अन्तरिम आदेश दिएपछि महानगरपालिका रोकिएको थियो । अदालतबाट रोक नलगाइएको भए फिर्केको खोलाघर खाली गर्न महानगर ‘एक्सन’मा गइसकेको हुने थियो ।

पोखराको मध्यभाग भएर बग्ने ८ किलोमिटर लामो र ४० मिटरसम्म फैलिएको फिर्केखोला मानवीय चपेटामा पर्दा अहिले साँघुरिएको मात्रै छैन कि केहीकेही ठाउँमा त खोला ‘गायब’ नै भएको छ । साउन ३ गतेदेखि फिर्केखोलाको अन्तिमविन्दु गाईघाट (फेवाताल, ड्यामसाइड)देखि खोलाको वास्तविक बाटो खोज्न थालिएको थियो । खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?