मेलम्चीको पानी काठमाडौं झार्न महेन्द्रको लगाव

साझा कथा । काठमाडौंवासीलाई खानेपानीको अभाव हुन थालेपछि खानेपानी मन्त्री महिन्द्र राय यादव आइतबार मेलम्चीस्थित खानेपानीको मुहान पुगे ।

हेलम्बु गाउँपालिकाको आम्बाथानस्थित मुहानमा उनीमात्रै पुगेनन् कि खानेपानीसँग सम्बन्धित निकायका प्रमुखहरुसमेत सँगै लिएर गए । खानेपानी मन्त्रालयकै सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी तथा आयोजनाका इन्जिनियरहरू, स्थानीय सरकारका प्रमुख र केही सरोकार राख्ने निकायका पदाधिकारीहरु पनि उनीसँगै मुहानमा पुगे । मुहान पुगेर उनले निरीक्षण गरे – अनुगमन गरे ।

गतवर्ष आएको बाढी र पहिरोका कारण मुहान क्षेत्रमा ठूलो क्षति भएकाले तत्काल काठमाडौंवासीलाई खानेपानी पुर्याउन समस्या देखेपछि उनले सामान्य हिसाबले काम गरेर नहुने भन्दै मुहान क्षेत्रमा नै आफू केही दिन बस्ने निर्णय लिए । अनुगमनपछि उनले भनेका छन् – ‘काठमाडौँ पानी पठाउन सुरुङमा पानी पथान्तरणको सुनिश्चितता गरेपछि मात्र काठमाडौँ फर्किनेछु ।’ यसको आसय उनी छिट्टै काठमाडौंवासीलाई पानी खुवाउन लागी परेका छन् । खानेपानी मन्त्री यादव चार÷पाँच दिन मुहान क्षेत्रमै बस्नेछन् र पानी आउने निधोसहित काठमाडौं फर्किनेछन् । यो काठमाडौंवासीका लागि खुशीको खबर हो ।

मन्त्रीको लगाव हेर्दा अबको एक महिनाभित्रमा काठमाडौंमा मेलम्चीको खानेपानी आइपुग्ने अनुमान छ । तर, बाढी र पहिरोले पुर्याएको क्षति हेर्दा काम गर्न भनेको जस्तो सजिलो नहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक अन्सारीको तर्क छ । पानी पथान्तरण गरिने सुरुङमा समस्या नभए पनि पानी बगाउन प्रयोग गरिने प्रेसरसुरुङमा समस्या रहेको उनको भनाइ छ । मेलम्चीमा अहिले मुहानस्थलसम्म पुग्नको लागि बाटो निर्माणको काम भइरहेको छ । एक/दुई दिनमा मुहानस्थलसम्म पुग्ने बाटो बन्नेछ । त्यसपछि धमाधम काम सुरु हुनेछ । अन्सारी भन्छन् – ‘मुहान क्षेत्र १५ मिटर गहिरो पुरिएको छ । बाटो निर्माण र सो क्षेत्रको सरसफाईका लागि ४ ओटा डोजर चलाइरहेका छौं । आसा गरौं – भनेको जस्तै छिट्टै खानेपानी काठमाडौं पुर्याउन सकियोस् ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?