साझा कथा । एउटा भनाई छ भाषा हराए सँस्कार हराउ छ, सँस्कार हराए सँस्कृती र सँस्कृती हराए पहिचान नै हराउछ पहिचान हराए देश हराउँछ । जसकारण आफ्नो भाषालाई संरक्षण गर्नु भनेको नै आफ्नो पहिचान बचाई राख्नु हो ।
हाम्रो देशमा अहिले १ सय २४ भाषा बोल्ने गरिन्छ ति सबै भाषाहरुको आ–आफ्नै सँस्कार सँस्कृत र पहिचानहरु छन् ।
यसै बिच एक दशकअघिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बाग्लुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ ।
गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कम मात्रै बोल्छन् । युवायुवती शहरबजारमा बस्ने हुँदा उनीहरूले त्यहाँ नेपाली भाषाको प्रयोग गर्छन् । हरेक वर्ष गाउँ छाड्नेको सङ्ख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको छ। बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर पढ्न थालेपछि नयाँ पुस्ताले आफ्नै भाषा नबुझ्ने खतरासमेत बढेको स्थानीयको भनाइ छ ।
मगर खाम भाषा आठार मगरातअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोलिन्छ । खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् । पशुपालन र खेती किसानी यहाँका स्थानीयको मुख्य पेशा हो । पहिले–पहिले लेकबेँसी र घाँसदाउरा गर्दा खाम भाषामै गीत गुनगुनाउने गरे पनि अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ । खाम भाषालाई आफ्नो पहिचान मान्ने यहाँका बूढापाका पछिल्लो समय भाषाको प्रयोग कम हुन थालेपछि चिन्तित बनेका छन् ।
.
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषासँगै निसीखोलामा रहेका कला, संस्कृति र परम्परालाई संरक्षण गर्न पालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको बताए । यो वर्षदेखि विद्यालयस्तरबाटै भाषा संरक्षणका लागि मगर खाम भाषामै पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेर लागू गरेको उनको भनाइ छ । यहाँका हरेक घरमा हरेक व्यक्ति खाम भाषा बोल्ने गरेको भन्दै नयाँ पुस्तालाई पनि आकर्षित गर्ने खालको कार्यक्रम सञ्चालन गर्ने र गाउँघरमा बोल्दा यो भाषालाई अनिर्वाय बनाउन जरुरी रहेको उनी बताउँछन् । आधुनिकताले भाषासँगै अन्य पक्षमा पनि असर पुगेको अध्यक्ष घर्ती मगरले बताए ।
‘मगर खाम भाषा संरक्षणमा हामी गम्भीर भएर लागेका छौँ, बूढापाकाले त पहिलेदेखि नै बोल्दै आउनुभएको छ, नयाँ पुस्तालाई बढी जोड दिएका छौँ’, उनले भने, ‘गाउँमा बस्नेले त जसरी पनि भाषा बोल्ने गर्छन्। बजार झरेर पढ्ने, व्यवसाय तथा रोजगारी गर्नेलाई पनि भाषा संरक्षण गर्नतर्फ लाग्न आग्रह गरेका छौँ ।’