स्याङ्जामा सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

साझा कथा । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यो वर्ष सुन्तलाको उत्पादन बढेको हो ।

सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष दुई करोडको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा ५० लाख मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिए । २०७० सालमा सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ । यहाँको सुन्तला पकेट क्षेत्रमा ६० कृषक छन् । यहाँ उत्पादित सुन्तला, काठमाडौं, बुटवल, पोखरा, कावसोती, इटहरी, धादिङ, इनरुवालगायतका जिल्लामा निर्यात हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपरजोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ । ती निकायले पक्की ट्याङ्की, प्लास्टिक ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन्। यहाँ सुन्तला आईपीएम पाठशालासमेत सञ्चालनमा छ ।

यहाँ उत्पादित सुन्तला एक क्विन्टल बराबरको सुन्तला सात हजारसम्ममा ठेकेदारले किन्छन् भने विभिन्न व्यापारीले ‘ग्रेडिङ’का आधारमा प्रतिकिलो ५० देखि ८० मा खरिद गर्छन् । ‘सिँचाइ, बिरुवा, बाली उपचार, अनुदान, बजारीकरण, परामर्शलगायतका धेरै विषयमा नगरपालिकाले सहयोग गर्ने ठाउँ छ’, भण्डारीले भने, ‘सिँचाइको चरम अभावका कारण हुनुपर्ने जति सुन्तला उत्पादन भएको छैन, सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो ।’ उनले जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि नगरपालिका अनुगमनसमेत गर्न नआएको गुनासो गरे । अध्यक्ष भण्डारीले व्यक्तिगत रुपमा यो वर्ष २५ लाखको सुन्तला उत्पादन गरेको दाबी गरे । ‘अघिल्लो वर्ष २२ लाखको सुन्तला बिक्री गरेको थिएँ’, उनले भने, ‘यो वर्ष मौसम अनकुलताका कारण गाउँमै सुन्तला उत्पादन बढेको छ, आशा छ राम्रो मूल्य पाउने छौँ ।’

यसैगरी मिलीजुली सुन्तला पकेट सञ्चालक समितिका अध्यक्ष युवराज सापकोटाले ७० घरधुरीका किसानले एक करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए। उनले अघिल्लो वर्ष पनि ९० लाख रुपैयाँको सुन्तला बिक्री गरेको बताए। तर व्यवसायीले किसानलाई बर्सेनी ठग्ने गरेको उनको गुनासो छ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?