गृहमन्त्री श्रेष्ठको गरियो मुटुको ‘एन्जियोप्लास्टी सर्जरी’: अस्पताल पुगे प्रधानमन्त्री ‘प्रचण्ड’

साझा कथा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ । बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मन्त्री श्रेष्ठको ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको हो ।

गत असोज ३० गते उनी मित्रराष्ट्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।

चीनमा उपचार गर्दा गरिएको स्वास्थ्य परीक्षणमा श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो । गएराति उनको मुटुमा हल्का असहज महसुस भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

अस्पतालका चिकित्सक डा अरुण मास्केसहितको टोलीले अवरोध रहेको मुटुको भागमा गए राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको र मन्त्री श्रेष्ठ हाल सघन उपचार कक्षमा (आईसीयू) उपचाररत रहेको र स्वास्थ्य अवस्था पनि स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ । चिकित्सकका अनुसार उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् साथै उनीहरूबीच सामान्य कुराकानीसमेत भएको गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?