साझा कथा । यू–१९ एसिया कपमा नेपालले आज (शुक्रबार) पहिलो खेलमै टेष्ट मान्यता प्राप्त देश पाकिस्तानसँग भिड्दैछ । खेल दुबईको आईसीसी एकेडेमी ग्राउण्ड २ मा नेपाली समय अनुसार विहान ११ः१५ मा सुरु हुनेछ ।
समूह ए मा परेको नेपालले पाकिस्तानपछि अफगानिस्तान र भारतसँग खेल्नेछ । समूह चरणमै तीनवटै टेष्ट मान्यता प्राप्त देशसँगको भेट नेपालका लागि बहुप्रतीक्षित हुनेछ । तर, नेपालको टिम फर्मेशन र आत्मबलका कारण खेल आफ्नो पक्षमा लिनसक्ने आंकलन गरिएको छ । यो खेलले नेपाललाई नजिकिदै गएको यू–१९ विश्वकपका लागि अझ परिपक्व बनाउने पनि विश्वास गरिएको छ ।
सन् २००२ को विश्वकपमा भएको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो, त्यसयता भने नेपाले पाकिस्तानसँगको खेलमा जित निकाल्न सकेको छैन । पछिल्लो पटक २०१६ को विश्वकपमा भएको भेटमा पाकिस्तान १२२ रनले विजयी भएको थियो ।
एसियाकप र विश्वकपमा नेपालको यात्राः
नेपाल ८ वर्षपछि पुनः यू–१९ विश्वकपमा पुगेको छ, जुन प्रतियोगिता १३ जनवरीबाट सुरु हुनेछ ।
नेपालले पहिलो पटक सन् २००० मा यू–१९ विश्वकप खेलेको थियो भने २००६ मा यो प्रतियोगिताको प्लेट च्याम्पियन समेत बनेको थियो । उमेर समूहमा नेपालले भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेशजस्ता टेस्ट मान्यता पाएका देशका टोलीलाई हराइसकेको इतिहास छ । तर सन् २०१६ पछि भने विश्वकपको छनोट चरण नै पार गर्न सकेको थिएन ।
एसिया कप भने सन् २०१२ यता ७ पटक खेलिसकेको छ । सन् २०१७ मा समूह चरणमा २ खेल जित्दै सेमिफाइनल प्रवेश गरेको थियो । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले भारतलाई १९ रनले हराएको थियो । यो नै यू–१९ एसिया कपमा नेपालले अहिलेसम्म हाँसिल गरेको ठूलो उपलब्धी हो ।
फेब्रुअरी–मार्चमा भएको विश्वकप छनोटमा ५ मा ५ खेल जितेको नेपालले एसिया कपको छनोट (यू–१९ प्रिमियर कप)मा पनि खेलेको सबै ५ वटै खेल जितेको थियो । दुबै प्रतियोगितामा शतप्रतिशत (१० खेल) जितेको नेपाली टोलीको आत्मविश्वास बलियो बनेको छ ।
नेपालको खेल तालिका र समय
डिसेम्बर ८ (मंसिर २२): नेपाल भर्सेस पाकिस्तान
डिसेम्बर १० (मंसिर २४): नेपाल भर्सेस अफगानस्तान
डिसेम्बर १२ (मंसिर २६): नेपाल भर्सेस भारत
समय: हरेक खेल नेपाली समयानुसार बिहान ११ः१५ मा सुरु हुनेछ ।