विमानस्थल सञ्चालन गर्न मन्त्री र मेयरको सडक आन्दोलन !

साझा कथा । बिग्रेका वा भत्किएका पूर्वाधार निर्माण गर्न आन्दोलन हुन्छ वा गरिन्छ, त्यो स्वभाविक मान्न सकिन्छ । तर, देश यस्तो अवस्थामा पुग्यो कि जो बनिसकेका पूर्वाधारलाई सञ्चालनमा ल्याउन पनि आन्दोलन गर्नुपर्छ । त्यतिमात्रै होइन, आन्दोलन जनताले गरेको सुहाउँछ तर, लुम्विनीमा आन्दोलन मन्त्री र मेयरले नै गरेका छन् ।

यस्तो आन्दोलन निर्माण सम्पन्न भइसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको गरिएको हो । विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान सुरू हुन नसकेको भन्दै मन्त्री, मेयरसहित उद्योगी व्यवसायीहरूले लुम्विनीमा दबाबमूलक सडक आन्दोलन गरेका छन् ।

रूपन्देहीका ३२ वटा संघसंस्थाहरूको साझा सञ्जाल सिद्धार्थ सञ्जाल रूपन्देहीले नेतृत्व गरेको सडक आन्दोलनमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानसमेत सहभागी हुँदै उद्योगी व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एक वर्षसम्म सरकारलाई आग्रह गर्दै र पछिल्लो एक महिनायता विभिन्न कार्यक्रममार्फत सचेत गराउँदै आए पनि सरकारले सुनुवाइ नगरेको भन्दै सडक आन्दोलनमा उत्रिनुपरेको सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए ।

केन्द्रीय सत्ता र शक्तिमा रहेकाहरूले आन्दोलन नगरेसम्म र शक्ति प्रदर्शन नगरेसम्म जनताका माग सुनुवाइ नगर्ने उल्लेख गर्दै गृहमन्त्री पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आफू जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेकोसमेत बताए । त्यस्तै, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले जनताले तिरेको अर्बौं करबाट बनाइएको विमानस्थललाई सरकारले अलपत्र पार्न नपाउने बताए ।

शुक्रबारदेखि सुरू गरिएको चरणबद्ध सडक आन्दोलन अन्तर्गत मंसिर २४ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शान्तिपूर्ण धर्ना र २५ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट हुने सबै आन्तरिक उडान बन्द गर्ने कार्यक्रम सञ्जालले सार्वजनिक गरेको छ । सञ्जालले चरणबद्ध आन्दोलनका लागि ५ सय १ सदस्यीय मूल संघर्ष समिति समेत गठन गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?