टिकटक बहसः नियमन गर्ने कि प्रतिबन्ध ?

खम्म ठकुल्ला, साझा कथा । टिकटक एक सोसल मिडिया एप्लिकेसन हो । जुन संसारभर छोटो भिडियो एपको रूपमा परिचित छ । जसका माध्यमबाट स्मार्टफोन मार्फत प्रयोगकर्ताले ३ सेकेण्डदेखि १० मिनेटसम्मका लामो भिडियो बनाएर शेयर गर्न सक्छन् । यो एप चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले २०१६ मा लन्च गरेको थियो । यसको कार्यालय चीनको राजधानी बेइजिङमा छ । सन् २०१८ सम्ममा विश्वका १५० भन्दा बढी देशमा, ७५ वटा भाषाहरूमा उपलब्ध भएको यो एप हाल विश्वका १६० देशहरूमा चलाइँदै आएको छ । टिकटकले स्मार्ट मोबाइलफोन प्रयोगकर्ताहरूलाई विभिन्न गीत सङ्गीतमा आफ्नै छोटो भिडियो बनाई वा आफ्नै आवाजमा पनि भिडियो सृजना गरि एपमा पोस्ट गर्ने सुविधा दिँदै आएको छ । जसकारण यो विश्वमै लोकप्रिय छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने टिकटकलाई केहिले सदुपयोग गरे, केहिले चरम दुरूपयोग । जसकारण हाल नेपालमा पनि टिकटकमाथि प्रतिबन्ध लागाइएको छ । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले समाजमा र परिवारमा बसेर हेर्नै नसकिने किसिमका सामग्रीहरू प्रशारण भयो भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसको पक्ष र विपक्षमा बहस भयो र हालसम्म पनि यो बहस चलिरहेको छ । कतिपयले टिकटक बन्द भएकोमा खुशी व्यक्त गरेका छन् भने कतिपयले विरोध गरिरहेका छन् । विरोध गर्नेहरुले व्यक्तिगत स्वतन्त्रताको हनन् भएको रुपमा समेत व्याख्या गरेका छन् । टिकटकका फाइदा बेफाइदा दुबै छन् । दुबैको चर्चा गर्न आवश्यक ठान्छु ।

विशेष गरेर गाउँघर तथा ससाना सहरमा बसोवास गर्ने मानिसहरुले आफ्नो प्रतिभा देखाउने मुख्य माध्यम टिकटक बनेको थियो । कतिपय मानिसले यसको माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा पनि गरे । कतिले राम्रो कमेडी गरे, त कतिले राम्रो नाच्ने पनि । यतिमात्र होइन, धेरै मानिसहरुले टिकटक लाइभबाट पैसा पनि कमाए, कमाइरहेका छन् । कतिले टिकटकबाट कमाएको पैसाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सहयोग पनि गरे । व्यापार÷विजनेस गरिरहेका मानिसहरुले वा ठुला कम्पिनीहरुले त झन् यसबाट आफ्नो व्यापार प्रोडक्टको प्रचारप्रसार गरि राम्रो मार्केटिङसमेत गर्दै आइरहेका थिए । अर्कोतर्फ गीत÷संगीतको क्षेत्रमा लागेकाहरुलाई पनि आफ्नो गीतको प्रोमोसनका लागि टिकटक एक राम्रो माध्यम बन्दै आएको थियो । के यो कुराको अध्ययन सरकारले राम्रो सँग गर्यो होला त ? गरेको भए नेपालमा टिकटकमाथि किन प्रतिबन्ध लगाइयो त ?

यति भन्दैमा टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि धेरै छन् । यो एप डाउनलोड गर्दा गुगल प्लेस्टोरमा भनिएको छ कि यो एप १३ वर्षमाथिकाले मात्र चलाउन पाउँनेछन् । यद्यपि, यो नियम पालना भएको पटक्कै देखिदैन । बच्चाहरुलाई पनि टिकटकमा भिडियो बनाएर राख्ने गरिएको तपाई हामीले देख्दै/हेर्दे आएकै हौं । गोपनीयताको कुरा गर्ने हो भने पछिल्लो समय नेपालमा टिककट निकै असुरक्षित र खतरनाक देखिन्थ्यो । किनकि, यसमा केवल दुईवटा प्राइभेसी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली (प्राइभेट) । अर्थात्, भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।

टिकटक पूर्ण रुपमा सार्वजनिक भएको हुँदा कसैले पनि टिकटकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले ठगी लगायतका अपराध बढी गर्ने सम्भावना हुन्छ । टिकटक अकाउन्टमा हेर्नै नसकिने विभिन्न खाले अश्लील सामाग्रीहरुले भरिएको छ । यसमा कुनै फिल्टर छैन । हरेक टिकटक प्रयोगकर्ताले त्यो सजिलै देख्न सक्छ । यस्ता कुराहरुमा सरकारले त्यस्ता भिडियो बनाउने प्रयोगकर्ताको खोजी गरि कानुनी दायरामा ल्याउनुको सट्टामा टिकटिक नै बन्द गर्न जरुरी थियो त ?

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ले खासगरी स्वनियमन गर्ने उद्देश्य राखेको छ भने यसले आफ्नो स्रोत कानुनको रुपमा विद्युतीय कारोबार ऐन, २०६३ लाई मानेको छ । मस्यौदा तयारीका क्रममा सुशासन ऐनलाई टेकेर निर्देशिका बनाउँदा राम्रो हुने सुझावहरु पनि प्राप्त भएका थिए । तथापि, तत्काल रहेका कानुनमध्ये विषयवस्तुका हिसाबले विद्युतीय कारोबार ऐन नै नजिकको रहेको ठहरसहित सोही कानुनलाई स्रोत कानुन मानी निर्देशिकालाई अन्तिम रुप दिइएको छ ।

सामाजिक सञ्जालको प्रयोगका क्रममा प्लेटफर्म र प्रयोगकर्ताले गर्न नहुने भनेर निर्देशिकामा व्यवस्था गरिएका क्रियाकलापहरुमा बेनामे वा फेक आइडी सिर्जना गर्न, वा फेक आइडी मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी शेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा कमेन्ट गर्न वा कल गर्न र कुनै समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवं ट्रोल बनाई प्रकाशन र प्रसारण गर्ने रहेका छन् । यसैगरी, बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाहजस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न, अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति, गालीबेइज्जती गर्न, हेट स्पीच वा हेट स्पीच मानिने कार्य गर्न स्पष्टीकरण हेट स्पीच भन्नाले पोष्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रने जस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनुपर्छ र डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न पनि निर्देशिकाले बन्देज लगाएको छ ।

सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न, अश्लील शब्द, तस्बिर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न, बालबालिकालाई हानी पु¥याउने सामग्री तथा बालयौन शोषण, यौन दुव्र्यवहार, देहव्यापारजस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न, मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न र साइबर बुलिङ मानिने कार्य गर्न (स्पष्टीकरण) साइबर बुलिङ भन्नाले प्रविधिको प्रयोगमार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गालीगलौज गर्ने, गलत सूचना स्प्रेषण गर्ने जस्ता कार्य सम्झनुपर्छलाई पनि गर्न नहुने कार्यको सूचीमा राखिएको छ ।

नेपालमा टिकटक बच्चादेखि वृद्धवृद्धासम्मकाले सर्वाधिक प्रयोग गर्दै आइरहेका छन् । टिकटकको अराजक तथा मनमौजी प्रयोगले जे जति घाटा नेपाली समाजलाई भयो त्यसको गणना वा मापन गर्न सजिलो छैन । यो विषयमा केहि चासो राखेर टिकटक नै बन्द गर्नु भन्दा त्यसमा नियमन लागु गरि त्यसको चरम दुरुपयोग रोक्न सबै सामाजिक सञ्जालहरुको प्रयोग मर्यादित र कानुनसम्मत हुनुपर्दछ । राज्यले गरेको आग्रह नागरिकले र व्यवसायीले समेत अनुसरण गर्नुपर्दछ । यस बिषयमा सबैको साझा र स्वच्छ अभिमत हुन आवश्यक छ ।

सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । किशोर किशोरीहरुले अश्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्याधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको थियो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्रतिबन्ध हटाइएको थियो । हामीले पनि त्यसबाट केहि सिक्न सक्छौं । हुन त नेपालमा पनि टिकटक संचालनमा केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्रतिबन्ध हट्न पनि सक्छ । यो भोलीको कुरा भयो । तर, हामी प्रयोगकर्ताले ख्याल गर्नुपर्ने कुरा के हो भने हामीले जतिपनि सामाजिक सञ्जालहरुको प्रयोग गर्छौं, ती सबै उच्च सावधानीका साथ गर्नुपर्छ । हामीले कुनैपनि एप डाउनलोड गर्दा त्यसका गोपनियताका शर्तहरुमा खासै ध्यान दिँदैनौं । आजकल धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा काम गर्दछन् – त्यो हामीले बुझ्नुपर्छ । यदि तपाइँले त्यस्ता एपलाई एकपटक मात्र प्रयोग गर्नुभयो भनेपनि ती एपले तपाईंसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैंका लागि जुटाइसक्दछ । त्यसैले, टिकटक जस्ता एपहरुको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?