Ad Banner

दोदा पुलः सम्झैताको आठ वर्षमा तीन पिलर मात्रै ठडिए

साझा कथा । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माणको काम थालिएको थियो । तर अहिले सम्ममा उक्त पुलको निमार्णकार्यको प्रगती भने जम्मा तीन पिलर मात्रै ठडिएका छन् ।

लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीले निर्माणको जिम्मा लिएको पुलको काम २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी २४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । गएका बर्षहरुमा पटक पटक म्याद थप हुँदा पनि पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्डविपरीत निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ ।

‘पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दै आएका छौँ,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले भने, ‘२०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो । ठेकेदारले विभिन्न बहाना बनाएर लापरबाही गरिरहेका छन् ।’

हालसम्म १२ करोड भुक्तानी भइसकेको सिग्देलले बताए । पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन् । ‘लामो समय बितिसक्दा पनि पुल निर्माण भएन । अब त पुल बन्नेमा आशंका हुन थालेको छ,’ लालझाडी–४ का कृष्ण राना भन्छन् । वर्षौँदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् ।

पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दै आएका छन् । स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका मंगलबहादुर चौधरीले बताए ।

‘वर्षात्‌मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले हटाउँछौँ,’ उनले भने, ‘त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।

यो पढ्नु भयो ?