हिमालय एअरलाइन्सको काठमाडौँ– चीन– काठमाडौँ उडान सेवा सुचारु

साझा कथा । नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले काठमाडौँ–छोङछिङ–काठमाडौँ उडान सेवा पुनः सुचारु भएको छ । यो सेवा बिस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको जनाएको चिनीया एक अनलाइनले लेखेको छ ।

यस काठमाडौँ–छोङछिङ–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्सको प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको जनाएको छ । समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध छोङछिङले ऐतिहासिक, विशिष्ट विविध पाक–कला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको जनाएको छ ।

पहिलो आउटबाउन्ड उडान, एच नाइन ७८७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समय अनुसार बिहान १०ः०७ मा प्रस्थान गरेको थियो र छोङछिङको चियाङ्गपइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको १५ः५० बजे अवतरण गर्ने छ । यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय पच्चिस रहेको थियो । छोङछिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४ः२५ बजे काठमाडौंका लागि फिर्ती उडान छुट्नेछ र काठमाडौँमा साँझको ६ः३५ मा अवतरण हुने छ ।

डिसेम्बर १२ पश्चात् एअरलाइन्सले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ । एअरलाइन्सले यस अघि नै बेइजिङ, छिङ्ताओ र शाङहाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ।

यस रुटको पुनः सुरुवातले नेटवर्क बिस्तार तथा यात्रुहरूको चाहनाअनुरुप नै प्रत्यक्ष, भरपर्दो र आरामदायी हवाई यात्रा अनुभव प्रदान गर्ने लक्ष्यलाई प्रगाढ रुपमा अगाडि बढाउने हिमालय एअरलाइन्स्को प्रतिबद्धतालाई अझ बढी प्रष्ट्याएको छ। आफ्नो नेटवर्कमा थपिएको यो रुटसँगै हिमालय एयरलाइन्सले नेपाल र चीनबीच व्यावसायिक अवसर, पर्यटन र सांस्कृतिक अन्तरक्रियालाई सहजीकरण गर्ने लक्ष्य राख्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन योगदान पुर्‍याउने अपेक्षा गरेको छ ।

यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?