साझा कथा । नाबालिग बलात्कारको अभियोगमा अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ।
सर्वोच्च अदालतले शाह विरुद्धको नाबालिग बलात्कारको मुद्दामा न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने अनुमति प्रदान गरेको हो ।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडितले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेको कारण देखाएर उच्च अदालत पोखराले उनलाई सफाइ दिएको थियो ।
बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो ।
पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर छ ।