Ad Banner

गैँडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुने

साझा कथा । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ । खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

राजधानी काठमाडौँ बाहिरको सर्वाधिक पुरस्कार राशिको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको छौटौँ संस्करण आगामी माघ २७ गतेदेखि सुरु हुनेछ । मध्यविन्दुको राइनो क्लबको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख पुरस्कार हात पार्नेछ ।

प्रतियोगिताको उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजक राइनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।

प्रतियोगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपिएफ टोली, आयोजक नवलपुर जिल्लासहित ‘ए’ डिभिजनका फुटबल क्लब, गण्डकी लुम्बिनी, मधेस र बागमती प्रदेशबाट चार टोलीसहित १२ टोलीको सहभागिता रहने भण्डारीले जानकारी दिए ।

यो पढ्नु भयो ?